धादिङको खनियाबासमा ‘क्रसर डनको आतंक’ : आँखु खोलामै अवैध क्रसर संचालन, प्रशासन मौन !

diyopost.com
दियो पोस्ट  मंगलबार, माघ ११, २०७८ | २२:५६:०७

धादिङ । धादिङको खनियावास गाउँपालिका ४ किन्ताङफेँदीमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगले स्थानिय बस्ती नै जोखिममा परेको छ । खानी तथा भूगर्भ विभाग लगायत कुनै पनि निकायमा दर्ता समेत नगरि क्रसर डनहरुले एउटा ठेकेदार कम्पनि मार्फत उक्त स्थानमा अवैध रुपमा क्रसर सञ्चालन गर्दै आएको छ ।

दियोपोस्टले फेला पारेको कागजात अनुसार खनियावास कन्स्ट्रक्सन प्रा.ली नामक निर्माण व्यावसाय सम्बन्धी कम्पनिले आँखु खोलामै स्क्याभेटर र ब्रेकर लगाएर अवैध रुपमा क्रसर संचालन गर्दै आएको हो ।

अवैध क्रसरको माथिल्लो भागमा रहेको खड्गरी, राउते र चिउरीबोटका बस्ती नै जाखिममा परेको छ । यता क्रसरको तलतिर रहेको किन्ताङ फेँदीको बस्तीलाई समेत असर गरेको छ ।

‘क्रसरका कारण रातमा निन्द्रा छैन । दिनभर पनि ब्रेकर चलाएर बालबालीकाले पढ्न समेत पाएका छैनन्,’ एक स्थानियले दियोपोस्टसँग भने,‘सडक किनार र खोला किनारमै कसरी यो क्रसर सञ्चालन भयो हामी नै अन्यौलमा छौँ ।’
क्रसरका कारण दामन पाख्रिन मार्ग सडक समेत प्रभावित भएको छ । क्रसर सञ्चालकहरुले त्यहाँबाट ढुंगा, गिटी, बालुवा लैजानेलाई खनियाबास कन्स्ट्रक्सन प्रा.लीको बिल बिजक जारी गर्ने गरेका छन् । उक्त कम्पनिका मालिक बुद्धि तामाङ हुन् । स्रोतका अनुसार उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलमान तामाङ निकट व्यक्ति हुन् । पूर्व कानुनराज्य मन्त्री समेत रहेका दिलमानकै आडमा बुद्धि तामाङले यस्तो अवैध धन्दा गर्दै आएका हुन् ।

खनियाबास गाउँपालिका ४ दार्खाका वडाध्यक्ष हरि सिंह गुरुङका अनुसार उक्त क्रसर अवैध रुपमा सञ्चालित छ । क्रसर सञ्चालकहरुले तामाङसँगै घर बाटो सिफारिस लिएर गएका थिए । खोला किनारबाट ५ सय मिटर पर क्रसर राख्छु भनेर उनीहरुले सिफारिस लिएर गएपनि अन्त्यमा खोलामै अवैध क्रसर खोलिदिएको उनले गुनासो गरे ।

‘उनीहरु दर्ता प्रक्रियामा गएका थिए । अहिले देशैभरी दर्ता बन्द छ । अहिले दर्ता नगरि चलाइरहेको छ । वडाबाट नियम अनुसार खोलाबाट ५ सय मिटर पर क्रसर राख्छौँ भनेर सिफारिस लिएर गएका थिए । हामीले घरबाटो सिफारिस मात्रै बनाएको हो । बनाउन नै हामीले दिएको होइन,’ उनले दियोपोस्टसँग भने,‘उनीहरुले यो अवैध रुपमा चलाएको हो । मैले पनि पालिका र जिल्ला समन्वय समितिलाई पत्र लेख्दैछु ।’

उनका अनुसार यो क्रसर एक वर्षदेखि सञ्चालनमा छ । उनले यो क्रसर सञ्चालन नगर्न पटक पटक भन्दा पनि क्रसर मालिकहरुले अटेरी गरेको बताए । ‘मैले मात्रै केही नहुने रहेछ । त्यसपछि म नै चिठी दिन्छु । मैले तयारी गरिसकेको छु,’ उनले भने,‘खानीका कारण पासिबोट र किन्ताङफेँदीलाई गम्भिर असर गर्छ । राउतेमा पनि असर गर्छ । बस्तीका मान्छेहरुलाई पनि यो क्रसर दर्तावाला होला भन्ने भ्रममा थिए ।

तर अहिले जनताले पनि अवैध भन्ने थाहा पाउन थालेका छन् ।’

 


खनियाबास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपालीलाई सम्पर्क गर्दा उनले पनि उक्त क्रसर त्रिपुरा सुन्दरी गाउँपालिकाबाट सरेर खनियाबासमा आएको र कतै दर्ता र स्विकृत नभएको बताए । तर, अवैध रुपमा क्रसर सञ्चालन भएपनि उक्त खानीमाथि कारबाही गर्ने अधिकार गाउँपालिकालाई नभएको उनले बताए । उनका अनुसार प्रहरी प्रशासनले नै यस्तो क्रसरमाथि कारबाही गर्नुपर्ने हो । यसअघि उक्त क्रसर त्रिपुरासुन्दरी गाउँपालिकाको लपाङ भन्ने स्थानमा संचालित थियो । स्थानियबासीले विरोध गरेपछि त्यहाँबाट खनियाबास पुगेको हो ।

क्रसर संघबाट अनुमति लिएको हो : क्रसरका मालिक बुद्धि तामाङ

क्रसरका मालिक बुद्धि तामाङले आफूले क्रसर संघबाट अनुमति लिएको बताए । क्रसर उद्योग संघले यसरी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गर्ने अनुमति दिन मिल्दैन । यो संस्था आधिकारीक नै होइन । तर, उनले आफूले स्थानिय निकायबाट पनि स्विकृत लिएको समेत बताए । यसअघि वडाध्यक्ष गुरुङले स्विकृत नभई सिफारिस दिएको बताएका थिए । प्रशासकीय अधिकृत नेपालीले पनि उक्त खानीले स्विकृत नलिएको बताएका थिए । तर, तामाङले भने गाउँपालिकाबाटै स्विकृत लिएको झूटो दाबी गरे ।

खानी तथा भूगर्भ विभागबाट वातावरणीय प्रभाव मुल्यांकन गरेर स्विकृत लिनुपर्छ भन्ने तपाईलाई थाहा छैन भन्ने दियोपोस्टको प्रश्नपछि उनले भने,‘त्यो सबै प्रक्रियामा छ । स्थानियबाट र क्रसर उद्योग संघबाट स्विकृत लिएर चलाएका हौँ ।’ उनले समाचार रिपोर्ट कसले दियो भन्दै प्रश्न समेत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई सम्पर्क गर्दा उनी कोभिड १९ संक्रमित भएका कारण कुनै प्रतिक्रिया दिन नसक्ने अवस्थामा रहेको जानकारी दिए ।

 

 

 

सम्बन्धित खबर