धादिङ –नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका धादिङ ईन्चार्ज दिपक खतिवडा पक्राउ परेका छन् ।
बिहिवार, गजुरी गाँउपालिका स्थित् किरान्चोकका स्थानिय नानिराम पराजुलीमाथी कुटपिट गरेको आरोपमा युवा संघका नेता खतिवडालाई प्रहरीले पक्राउ गरेको हो । उता बुधबार साँझ नेकपा एमालेका स्थानिय नेतासमेत रहेका गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतमाथी पनि हातपात भएको थियो । एमाले गजुरी गाँउपालिका कमिटीका अध्यक्ष माधव भण्डारीद्धारा हस्ताक्षरित् विज्ञप्तिमा अध्यक्ष बस्नेतमाथीको हातपात सुनियोजित् भएको भन्दै दोषीमाथी कारवाहि गर्न समेत माग गरेको छ ।
उक्त घटनाप्रति प्रहरीले गोप्य रुपमा छानबिन गरीरहँदा बिहिबार दिँउसो एमाले युवा संघका जिल्ला इन्चार्जसमेत रहेका खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । खतिवडाले गजुरी गाँउपालिका वडा नं. ७ स्थित् किरान्चोकका स्थानिय नानिराम पराजुलीमाथी कुटपिट गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । खतिवडालाई अहिले ईलाका प्रहरी कार्यालय गजुरीमा राखिएको प्रहरी श्रोतले जनाएको छ ।
खतिवडाले हातपात गरेका पराजुली नेपाली काँग्रेस गजुरी गाँउपालिकाका सहसचिव हुन् । यसअघि उनी नेकपा एमालेमा थिए । तर गत केहिसमयअघि नेकपा एमाले विभाजित् भएका बखत उनी एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । सोहि विषयलाई लिएर खतिवडाले पटक पटक धम्क्याउने गरेकोसमेत पराजुलीले बताँउदै आएका थिए ।
ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी भावेश रिमालले खतिवडा पक्राउ परेको पुष्टि गरे । ‘झगडा गरेको कारण सोधपुछका लागि ल्याएको हो’ उनले भने,‘अनुसन्धान हुँदैछ ।’
स्रोतका अनुसार खतिवडा मदिराले लठ्ठीएको अवस्थामा छन् ।