काठमाडौं । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालकी बरिष्ठ अस्पताल नर्सिङ अधिकृत डा. रिना श्रेष्ठ माथि विभिन्न अनियमितताको आरोप लागेको छ । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायमा उजुरी परेको छ ।
नर्सिङ प्रशासनमा अनियमितता गरेको, सरकारी बिदा नलिई अध्ययनमा गएको, कार्यालय समयमा निजि कलेजमा पढाउन जाने गरेको, बीर अस्पतालबाटै विभिन्न निजि कलेजमा अनलाइन मार्फत पढाउने गरेको, करारमा नर्सको म्याद थपमा समेत घुस माग्ने गरेको आरोप लगाउँदै वीरकै कर्मचारीहरुले उनी विरुद्ध अख्तियारमा मुद्दा दायर गरेका हुन् ।
उनको सम्पत्ति समेत छानबीन गर्नुपर्ने उजुरीकर्ताहरुको आरोप छ । उनीहरुले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबार र स्वास्थ्य मन्त्रालय लगायत विभिन्न निकायमा उजुरी दिएका हुन् ।
उजुरकर्ताहरुले उनको नर्सिङ उपाधीमा समेत शंका गरेका छन् । मेवार युनिभर्सिटी भारतबाट पिएचडी उपाधी लिएको विषयमा समेत उजुरीकर्तँहरुले शंका गरेका छन् ।
छानबीन गर्न उनीहरुको माग छ । त्यस्तै उनीनिकट नर्स भगवति थापालाई विरामीको उपचारमा नपठाई बेरुजु शाखामा खटाएको समेत उनीमाथि आरोप छ । विदाको दिनमा समेत सरकारी सवारी साधन दुरुपयोग गरेको उनीहरुको आरोप छ ।