कैलाली । कैलाली कारागारमा लागुऔषधको कारोबार गरेको गुनासोपछि प्रमुखसहितका ३० जना प्रहरीको जिम्मेवारी खोसिएको छ ।
जिल्ला प्रशासन कार्यालयकाअनुसार कारागारभित्र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेपछि प्रहरीतर्फका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बासुदेव अवस्थीसहितका प्रहरीलाई फिर्ता बोलाइएको हो । उनीहरुको ठाउँमा बिहीबार नयाँ प्रहरी कर्मचारी पठाइएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कारागारको सुरक्षार्थ खटिएको प्रहरी कर्मचारीको जिम्मेवारी खोसेर नयाँ पठाइएको जानकारी दिए । उनका अनुसार जेलर नरबहादुर थापाको जिम्मेवारी खोसेर अर्को व्यक्तिलाई पठाउने प्रक्रिया समेत प्रशासनले अघि बढाएको छ ।
जोशीका अनुसार जेलर थापाको ठाउँमा अर्को व्यक्ति पठाउन प्रशासनले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भने नियमित प्रक्रिया अन्तर्गत सुरक्षाकर्मी फिर्ता बोलाइएको बताए । प्रहरीतर्फका प्रमुख अवस्थीसहितका सुरक्षार्थ खटिएका ३० जना प्रहरीलाई फिर्ता बोलाउदै उनीहरुका ठाउँमा नयाँ पठाइएको उनको भनाइ छ ।