घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न मलेसियाको प्रस्ताव

दियो पोस्ट  

काठमाडौं । मलेसियाले घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न शुक्रबार प्रस्ताव राखेको छ । २०७५ कात्तिक ११ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा घरेलु कामदार पठाउने विषय उल्लेख छैन । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा काठमाडौंको सोल्टी होटलमा भएको द्वीपक्षीय बैठकमा मलेसियाको तर्फबाट मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले घरेलु कामदार पठाउन प्रस्ताव राखेको हो । नेपालले यो प्रस्तावलाई नेपाल र मलेसियाको संयुक्त प्राविधिक बैठकमा एजेन्डा बनाउन तयार भएको छ । यो बैठक तीन महिनाभित्र राख्न मलेसिया तयार भएको छ ।

बैठकमा मलेसियाले तुरुन्तै ५ लाख विदेशी कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ ल्याएको बारे नेपाललाई औपचारिक रुपमा जानकारी दिएको छ ।

बैठकमा ५ लाख विदेशी कामदारमध्ये नेपालबाट लैजाने संख्या भने स्पष्ट तोकिएन ।