पार्सा । पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा संलग्न रहेको आरोपमा २ प्रदेशसभा सदस्य सहित ४९ जनाविरुद्ध मुद्दा परेको छ । गत पुस ४ गते राती हतियार र बन्दोबस्तीको सामानसहित ५ जनालाई नियन्त्रण लिएको थियो । वन्यजन्तु चोरी तस्कारी घटनामा निकुञ्जले मधेस प्रदेशसभा सदस्य प्रमोद जैशवाल, वाग्मती प्रदेशसभा सदस्य श्यामबहादुर खड्का र पर्सा, सखुवाप्रसौनी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप जैसवाल सहित ४९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
निकुञ्जले ४५ दिनको अनुसन्धानपछि सोमवार मुद्दा दर्ता गरेको हो । सो घटनामा अभियुक्तमध्ये १५ जना पक्राउ परेका छन् भने ३४ जना फरार छन् । प्रदेशसभा सदस्यहरू जैशवाल, खड्का र पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जैसवालको घटनामा संलग्नता देखिए पनि उनीहरू पक्राउ भने परेका छैनन् । प्रतिवादी मध्येका जैसवाल दाजुभाइ , खड्का र सञ्जीव शाहीसहित ४ जनाको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २७ बमोजिम कारबाही हुने जनाएको छ ।
साथै अन्य प्रतिवादीहरू झापस दास थारु, नवराज बस्नेत, विशाल सहनी, दामोदर अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलन मिया अन्सारी, भोलाबहादुर पुनमगर समेत ८ जनाको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (३) बमोजिम सजाय हुने निर्णय गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ऐन अनुसार उनीहरूको संलग्नताको आधारमा माग दावीसहित अनुसन्धान अधिकारीले निकुञ्ज कार्यालयमा माघ १७ गते मुद्दा दायर गरेका थिए ।