काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षमा निधन भएको छ । नेपालको वित्तीय क्षेत्रमा परिवर्तनकारी भुमिका खेल्ने जबराले थापाथलीस्थित नर्भिक अस्पतालमा आज (२२ माघ) विहान अन्तिम सास लिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
उनी नेपाली बैंकिङ जगतका यस्ता व्यक्ति थिए, जसको नाम इतिहासको पानाबाट सायदै मेटिएला । नेपाली नोटमा पहिलो हस्ताक्षर गर्ने अवसर पाएका उनी नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हुन् । तत्कालिन राणाकालिन प्रधानमन्त्री देवशमशेरका पनाती समेत रहेका जबराको जन्म वि.स १९८४ मा थापाथली दरबारमा भएको थियो । वि.सं २००४ सालमा बम्बई (हालको मुम्बई) विश्वविद्यालयमा स्कुल अफ इकोनोमिक्स एन्ड सोसियोलोजीबाट एमए सके । भारतमा बस्दा अनेकन् राजनीतिक क्रान्ति र परिवर्तन देखेका उनी सुवर्णशमशेर राणा र बीपीसँग नजिकिए । सोही संगतबाट भूमिगत रुपमै प्रजातन्त्र स्थापनाको राजनीतिमा होमिएका उनी नेपाल फर्केपछि जहाँनिया राणा शासन हटाउने क्रान्तिमा सक्रिय थिए ।
२००७ सालको परिवर्तनसँगै सुवर्णशमशेरले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनी अर्थ सचिवमा नियुक्त भएका थिए । २३ वर्षकै उमेरमा २००७ फागुनबाट तलब र भत्ता गरेर मासिक ५ सय ८३ रुपैयाँ बुझ्ने गरी अर्थसचिवको यात्रा सुरु गरेका उनले आफ्नो कार्यकालमा अर्थतन्त्रलाई निश्चित आकार दिने काम मात्रै गरेनन्, महत्त्वपूर्ण आर्थिक र प्रशासनिक सुधारका कामहरु पनि गरे । आम्दानी र खर्चको दुरुस्त हिसाबको अभावमा अर्थतन्त्रको आकार कत्रो छ ? भन्ने पनि थाहा नभएको समयमा उनले पहिलो बजेट ल्याउने जिम्मेवारी उठाएका थिए । पहिलो बजेट अनुसार २००७ सालको देशको कुल आम्दानी २ करोड नब्बे लाख ८१ हजार थियो भने खर्च २ करोड ४६ लाख २७ हजार रुपैयाँ थियो । वि.स. २०१३ वैशाख १४ गते राष्ट्र बैंकको स्थापनासँगै पहिलो गभर्नर बनेका उनले २०१७ माघ २५ गतेसम्म राष्ट्र बैंकको नेतृत्व सम्हालेका थिए । सो समयमा उनले राष्ट्र बैंकलाई केन्द्रीय बैंकको भूमिका दिलाउने मात्र नभएर नेपाली मुद्रा (कागजी नोट) छाप्ने र देश भित्र आफ्नै मुद्रा चलाउने काम समेत गरे ।
२०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको घोषणा गरेपछि अन्य सरकारी कर्मचारीसँगै हिमालय बर्खास्तीमा परे । त्यतिबेला उनि बर्खास्तीमा पर्ने सबैभन्दा उच्चपदस्थ सरकारी कर्मचारी थिए । बर्खास्तीमा परेपछि संयुक्त राष्ट्रसंघमा काम गर्ने गरी अमेरिका गएका उनले त्यसपछिका २४ वर्ष विभिन्न देशमा संयुक्त राष्ट्रसंघको नायब आवासीय प्रतिनिधि र आवासीय प्रतिनिधिका रुपमा बिताए ।
संयुक्त राष्ट्रसंघको जागिरे जीवनबाट अवकाश लिएर २०४२ साल फागुनमा स्वदेश फर्केपछि पनि उनी विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरुमा जोडिइ नै रहे । विद्युत् प्राधिकरणको सदस्यदेखि नेपाल भारतबिचको व्यापार तथा वाणिज्य सन्धिको पुनरावलोकनका कामसम्म उनी संग्लन भए । २०४९ माघमा निजी क्षेत्रको पहलमा हिमालय बैंक खोलका हिमालय शमशेर २०६० पछि भने माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरणका निम्ति नागरिक आन्दोलनहरुमार्फत सक्रिय थिए । पहिलो गर्भनरदेखि पहिलो अर्थसचिव भएका राणाले नेपाली अर्थतन्त्रको जग बसाल्न आर्थिक र नीतिगत कामको सुरूआत गरेर महत्त्वपूर्ण योगदान दिएका छन् ।
राणा परिवारमा जन्मेर पनि प्रजातन्त्र र बहुलवादी शासन व्यवस्थामा विश्वास गर्ने उनी खुला बजार र उदारीकरणको पक्षमा थिए । साधारण जीवनशैलीमा रमाउने उनी जीवनको उत्तरार्धमा पनि बिग्रँदो राजनीति र सत्ताकेन्द्रित दलहरूको राजनीतिक गतिविधिहरुलाई नजिकबाट नियाल्दै टिप्पणी गर्न रुचाउँथे । उनको निधनले झन्डै शतक लामो नेपाली समाजको विकास, राजनीति र अर्थतन्त्रको आरोह, अवरोहको एउटा साक्षी नेपाली समाजले गुमाएको छ ।
हेर्नहाेस् भिडियाे रिपाेर्ट :