काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हिउँदे अधिवेशनमा २० वटा विधेयक पास गर्ने गृहकार्य थालेको छ ।
सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरुसँग संसदका गतिविधिहरुलाई चलयामान बनाउने कुरामा छलफल गरेका हुन्।
उनले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरु संसदबाट पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरुबाट सुझाव लिएका हुन्।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री दाहालले संसदको बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरु लैजाने भन्नेबारेमा छलफल भएको बताए।
उनले संसद अहिले प्रभावकारी नबनेको भन्दै संसद भाषणको रमिता देखाउने कुरामै सिमित रहेको बताए। उनले आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसदको बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको बताए।
हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिव २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिवद्धता प्रधानमन्त्री दाहालले जनाउनुभएको बताए।