सरकारी आईटी क्षेत्रको सुरक्षा गर्न सरकारसँग मुल साँचो छैनः सञ्चारमन्त्री शर्मा

दियो पोस्ट  

काठमाडौं । नेपाल सरकारको सूचना केन्द्र र समग्र आईटी क्षेत्रको सुरक्षाको साँचो सरकारसँगै नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । ती साँचो कहाँ छन् खोज्ने बेला भएको उनको भनाइ छ । मंगलबार ‘इन्फोडेभेलपर्स क्यान इन्फोटेक २०२३’,मेलाको उद्घाटनका क्रममा बोल्दै मन्त्री शर्माले आईटी क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भएकाले विदेशीहरूबाट सेवा लिनुपर्दा सुरक्षामा चुनौति भएको आशय व्यक्त गरिन् ।

सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा यहाँका दक्ष जनशक्ति विदेश पलायन भइरहेको र यसले गर्दा यहाँको आईटी क्षेत्र विदेशी जनशक्तिको हातमा परेको उनको भनाइ थियो । ‘हामीले आफ्ना जनशक्ति जोगाउन नसक्ने र आफूलाई आवश्यक पर्दा बाहिर (विदेश) बाट मान्छे ल्याउनुपर्ने स्थिति भइरहेको छ,’उनले भनिन्, ‘यसले गर्दा हाम्रा डेटा सेन्टर र प्रविधिको काम गर्ने निकायको सुरक्षाको मुल साँचो हामीसँग छैन । मुल साँचो नै आफूसँग नहुँदा हामीले कसरी राष्ट्रियता बचाउन सक्छौँ ?’