महामन्त्री थापाको दाबी : एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्छौँ

दियो पोस्ट  

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरू आँखा लगाएरै अघि बढने बताए।

‘राष्ट्रपतिमाआँखा लाउलास् भन्नुहुन्छ साथीहरू । ठीकै हो । त्यो पनि कुरा । तर, नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरुमा हामीले कस्तो बनाएका छौँ ? मन लाग्दाखेरि हामीले संविधानलाई मिच्न पाउने। अहिले नेकपा एमालेको नेतृत्वले राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यो राष्ट्रपतिलाई सम्माननीय कठपुतली राष्ट्रपति भनिदिए हुन्छ । त्यसले के गर्छ ? यो सरकारको कुरा होइन है । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले बिस्तारै दुई शक्ति केन्द्र हुन्छ । एउटा बालुवाटार, अर्को शीतलनिवास हुन्छ । अनि बालुवाटारबाट कार्यअधिकार प्रयोग गर्ने ठाउँबाट शीतलनिवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ । र, एक ठाउँमा गएर ठोक्किन्छ । र, त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । त्यो संविधानलाई दुर्घटनामा लिएर जाने डरले गर्दा कांग्रेसले लुकाउने कुरा छ र ? हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ । र, हराएरै छाड्छौँ।  कोसिस गर्छौँ । लाग्छौँ–लाग्छौँ । यो स्वाभाविक हो नि । अस्वाभाविक हो र?’

महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउन आफूहरूले सक्दो प्रयास गर्ने कुरा स्वाभाविकै भएको जिकिरसमेत गरे।