काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव अघि सारेको छ। माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गरेका थिए।
माओवादी केन्द्रका कार्याल सचिव डोरप्रसाद उपाध्यायले प्रचण्डको प्रस्ताव स्थायी कमिटीले पारित गरेको र त्यसलाई केन्द्रीय कमिटीमा लैजाने बताए।
दुई महिने संगठन निर्माण अभियानका क्रममा समेत यो विषयमा छलफल चलाइने उनले बताए।
निर्वाचनअघि माओवादी केन्द्रले अरू दलहरूलाई मिलाएर समाजवादी केन्द्र बनाउने प्रयास गरेको थियो। त्यसका लागि उसले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीसँग छलफल समेत गरेको थियो। माओवादीको उक्त प्रयास सफल भएको थिएन। त्यो बेलामा माओवादीका केही नेताले पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्ने प्रस्ताव गरेका थिए।