बागमती प्रदेशले दिएको विदा उपत्यकाका तीन जिल्लामा लागू नहुने

दियो पोस्ट  

काठमाडौं । बागमती प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरका फागुन १ गते दिएको सार्वजनिक विदा काठमाडौंका तीन जिल्लामा लागू नहुने भएको छ । प्रदेश सरकारको उक्त निर्णयलाई गृह मन्त्रालयले लागू नगर्ने भएपछि काठमाडौं, भक्तपुर र ललितपुरमा सो विदा  लागू नहुने भएको हो ।

बागमती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद्‌ बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको अवसरमा विदा दिने निर्णय गरेको थियो ।

बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुसिल सापकोटाका अनुसार उपत्यकाका तीन जिल्ला बाहेकका जिल्लाका सरकारी कार्यालयहरु भने बन्द रहने छन् । सापकोटाले भने, ‘काठमाडौं उपत्यकाका तीन जिल्लामा नेपाल सरकारको गृहमन्त्रालयले निर्णय गर्छ । यी तीन जिल्ला बाहेक यस प्रदेशका अन्य जिल्लका सबै सरकारी कार्यालयहरु बन्द हुनेछन् । ‘

यसअघि कर्णाली प्रदेशले पनि गत २३ माघको मन्त्रिपरिषदको निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । दुबै प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।