धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ७ अमन्टारमा भएको गैरकानुनी बालुवा उत्खनन्को घटनामा गाउँपालिका उपाध्यक्ष सविता अर्याल समेत संलग्न भएको पाइएको छ ।
स्थानिय बासीका अनुसार स्थानीय माझी बस्तीलाई जोखिममा पार्ने गरि स्क्याभेटर लगायत सामग्री प्रयोग गरेर उत्खनन् भइरहेको छ । तर, जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालय मौन बसेको छ । गाउँपालिका उपाध्यक्ष अर्यालले सडक निर्माणको नाममा गैरकानुनी रुपमा बालुवा उत्खनन् गर्ने अनुमति दिएको पत्र नै भेटिएको छ ।
स्थानिय सरकार संचालन सम्बन्धी ऐनमा उपाध्यक्षलाई त्यस्तो अधिकार नभएपनि अख्तियारको दुरुपयोग गर्दै अर्यालले उक्त पत्राचार गरेको स्थानियबासीको आरोप छ ।
प्रदेशबाट स्विकृत भएको आदमटार सडक स्तरोन्नतीको लागि योजना सम्झौता भई योजना समेत सम्झौता भएको र उक्त सडक स्तोरन्नती गर्दा निस्कने खनिजजन्य पदार्थ पदार्थ सिद्धलेक गाउँपालिकालाई नियमानुसार कर बुझाउने गरि वडाबाट सिफारिस भएको भन्दै उपाध्यक्ष अर्यालले विवादास्पद पत्रचार गरेकी छिन् । पिपलटार आदमतार सडक स्तरउन्नती उपभोक्ता समितिलाई बालुवा उत्खनन् गर्ने अधिकारी दिएपछि यतिबेला उनी विवादमा परेकी छिन् ।
यसअघि आफूलाई गाडी नदिएको भन्दै उनले गाउँ कार्यापालिकामै विवाद झिकेको गाउँपालिकाकै एक कार्यापालिका सदस्य बताउँछन् ।
‘बाटो बनाउने भनेर बाटो क्षेत्र भित्रै नपर्ने क्षेत्रमा पुरै ढिस्को खनेर बालुवा तस्करी भईरहेको छ,’ स्थानियबासी भन्छन्,‘हामीले यस विषयमा सिडिओ कार्यालयदेखि विभिन्न निकायमा उजुरी दिएका छौँ तर, कसैले सुनुवाई गरेका छैनन् ।’
स्थानियबासीले यसअघि नै दियोपोस्टलाई खबर गरि गैरकानुनी रुपमा बालुवा उत्खनन् भइरहेको बताएका थिए ।
‘हाम्रो गाउँ नै जोखिममा पर्ने गरि बालुवा उत्खनन् भइरहेको छ । तर, सरोकारवाला निकाय मौन छन् । वडाध्यक्ष गिरीलाई पटक पटक गुनासो गर्दा पनि उत्खनन् रोखिएको छैन,’ एक स्थानिले दियोपोस्टसँग भने,‘गाउँपालिकाकै उच्च अधिकारी समेत यसमा संलग्न छन् भन्ने सुनिन्छ । प्रशासनका मान्छेहरु पनि मिलेका छन् ।’
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सानो गिरी र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएकी उपाध्यक्ष अर्याल लगायतको मिलेमतोमा बालुवा तस्करी भइरहेको स्थानियबासीको आरोप छ ।