५५ लाखको बेरुजु हटाउन प्रधानमन्त्री कार्यालयका उपसचिवको रहस्यमयी दौडधुप

दियो पोस्ट  

काठमाडौं । महालेखा परिक्षकले एक संस्था भित्रको वेरुजुमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री कार्यालयसम्म तरंग भएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्वसीईओ अर्जुन भण्डारीले कोषको ६० करोड रुपैयाँ सेन्चुरी बैंकको कल एकाउन्टमा राखेपछि कोषलाई ५५ लाख रुपैयाँ घाटा भएको भन्दै महालेखा परिक्षकको कार्यालयले बेरुजु निकालेको छ ।

सोही बेरुजुको पत्र कोष भित्र पुगेपछि यतिबेला तरंग भएको छ । कोषका लेखा विभाग प्रमुख विनोद  पन्त र प्रशासन विभाग प्रमुख अच्युत पन्तलाई तनाव भएको छ । महालेखाले प्रतिवेदनमा नै यो विषय उठाउन लागेपछि प्रस्तावित बेरुजु प्रतिवेदन नै काट्ने खेलमा उच्च तहका व्यक्तिहरु चलखेलमा लागेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव तथा कोषका पूर्व कार्यकारी अधिकृत भण्डारीले दबाव दिएका छन् । उनले आफू प्रधानमन्त्रीको निजि सचिव हुँ भन्दै महालेखा परिक्षकमाथि दबाव दिन लगाएका छन् ।

‘माओवादीको कर्मचारी रहेका कारण अहिले हामीलाई यो विषय प्रतिवेदनमै उठाउन समस्या पारिरहेका छन्,’ महालेखा स्रोतले भन्यो,‘कोषकै उच्च अधिकारी समेत यसलाई मिलाउन सक्रिय छन् ।’

कोषको रकममाथि हिनामिना गरेको विषयमा यसअघि नै दियोपोस्ट डटकममा समाचार प्रकाशन भएको थियो ।