नौपटक शिलान्यास भएको मेची पुल बल्ल बन्यो,प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

दियो पोस्ट  

काठमाडौं, माघ १८ ।सात दशक लामो प्रयासपछि भद्रपुरस्थित बहुप्रतिक्षीत मेची नदीको पुल उद्घाटन भएको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार पुलको उद्घाटन गरे । धेरैपटक शिलान्यास भएर पनि बीचबीचमा रोकिएको मेची पुल हुलाकी राजमार्ग निर्माण परियोजनाले ३३ करोड लागतमा बनाएको हो । पुलको पूरै भाग नेपाली जमिनमै पर्छ ।

पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब विकासको गति कुनै हालतमा अवरुद्ध नहुने बताए । रेल हेर्न आफू सानोमा हाफपाइन्ट लगाएर खाली खुट्टा भद्रपुर नाका हुँदै भारतको गलगलिया पुगेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम रेल दौडाएरै छोड्ने बताए । ‘अब रेल हेर्न खोलो तरेर अर्को मुलुक जानैपर्दैन, पूर्व–पश्चिम रेल कुदाएरै छाडिन्छ,’ उनले भने ।

नेपाल–भारत सीमाको मेची पुल निर्माणका लागि स्थानीयले ६५ वर्ष बिताएको स्मरण गर्दै उनले अब यस्तो समस्याबाट जनताले मुक्ति पाउने विश्वास व्यक्त गरे । पुलसँग जोड्ने भारततर्फको बाटोका लागि आफैँ भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने प्रधानमन्त्री ओलीले बताए ।

पुल ५६० मिटर लम्बाइ तथा ९.८ मिटर चौडाइको छ । परियोजनाले १७ पुस ०६६ मा काठमाडौंको अनक सूर्य जेभीसँग ठेक्का सम्झौता गरेको थियो । पुल बनिसकेपछि स्थानीय खुसी भएका छन् । मेची खोलामा पुल नहुँदा स्थानीयले डुंगा प्रयोग गर्दै आएका थिए । भद्रपुरआसपासका बासिन्दाले घरमा चाहिने नुन, तेल, दाल, चिनी, माछा, मासु सबै भारतबाटै ल्याउने गरेका छन् ।

९ वर्षमा पूरा
०३२ सालमा स्थानीय व्यापारी मोहन अग्रवालले मेची पुल बनाउनकै लागि जनस्तरबाट पैसा संकलन अभियान चलाएर ३२ लाख रुपैयाँ राजा वीरेन्द्रलाई हस्तान्तरण गरेको जानकारहरू बताउँछन् । तर, बनेन । पञ्चायतकालमा अञ्चल प्रशासक छिरिङ तेञ्जिङ लामाले दुईपटक मेची पुल शिलान्यास गरेको बताइन्छ । विजय गच्छदार भौतिक योजनामन्त्री भएका वेला ०६६ सालमा पुलको शिलान्यास गरेका थिए । उनले शिलान्यास गरेको नौ वर्षपछि बल्ल पुल तयार भएको छ ।

चन्द्रगढीबाट रात्रि उडान
चन्द्रगढी विमानस्थलले रात्रि उडान सुरु गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री ओलीले स्विच थिचेर रात्रि उडानको उद्घाटन गरे । उनी यती एयरको रात्रि उडानमार्फत बिहीबार नै राजधानी फर्किए । यसअघि कम भिजिबिलिटी र सूर्य अस्ताएपछि उडान तथा अवतरण नहुने चन्द्रगढी विमानस्थलमा एरिया नेभिगेसन प्रविधि जडान गरी रात्रि उडान सुरु गरिएको हो ।

कम भिजिबिलिटीका कारण हिउँदमा प्रायः उडान रद्द भइरहने चन्द्रगढी विमानस्थलमा अब १७ सय मिटर भिजिबिलिटीमै उडान तथा अवतरण हुन थालेको छ । नागरिक उड्डयन प्राधिकरणले चन्द्रगढी विमानस्थलमा एरिया नेभिगेसन प्रविधि र लाइट सिस्टम जडान गर्न ११ करोड खर्च गरेको बताइएको छ । योसँगै नेपालमा रात्रि उडान हुने विमानस्थलको संख्या ६ पुगेको छ ।
नयाँपत्रिका दैनिकबाट

सम्बन्धित खबर