जाजरकोट, माघ १८ । नलसिंहगाड जलविद्युत् आयोजनाको बाँधस्थल पुग्ने पहुँचमार्ग निर्माण गर्दा बाटो भत्किएपछि पैदलयात्रीले ज्यान गुमाउनुपरेको छ । दुई वर्षमा पूरा गर्नुपर्ने सडक तीन वर्षसम्म नबनेपछि आवतजावत गर्दा बटुवाको ज्यानै जान थालेको हो ।
जाजरकोटको बारेकोट गाउँपालिकाबाट सदरमुकाम खलंगा आवतजावत गर्न नलगाड नगरपालिकाको कालिमाटी भिर पार गर्नुपर्छ । तीन वर्षदेखि यो भिर भएरै नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणाधीन छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पहुँचमार्ग कालिमाटी भिरमै अड्किएको छ । पहुँचमार्ग निर्माण गर्दा भिरमा रहेको पैदलमार्ग भत्काइएको छ ।
पैदलमार्ग भत्काएपछि बारेकोटबाट सदरमुकाम आवतजावत गर्ने पैदलयात्रुलाई सकस परेको हो । ‘बाटो भत्किएको छ । हिँड्नै मुस्किल छ । हिँड्दाहिँड्दै लडेर ज्यानै जाने जोखिम छ,’ बारेकोट–५ का प्रेम शाहीले भने । सडक निर्माण हुँदा सजिलो होला भन्ने आस गरेका स्थानीय बासिन्दा बाटो भत्किएपछि ज्यान गुमाउनुपरिरहेको बताउँछन् । ‘पुरानो भिरालो बाटो भत्किएर झन् जोखिमपूर्ण बनेको छ । भिरमा झन अप्ठ्यारो भएको छ,’ बारेकोट–८ का जयबहादुर खत्रीले भने ।
तीन किलोमिटर लामो कालिमाटी भिरको बाटोमा त हिँड्न समस्या छ नै, नलसिंहगाड (नदी) मा पनि वारपार गर्न अप्ठ्यारो भएको छ । नदीमाथि अस्थायी रूपमा राखिएका काठ पनि झरेका छन् । जसले नदी पार गर्न पनि जोखिमपूर्ण बनेको स्थानीय बासिन्दाले बताए ।
हिँड्दाहिँड्दै चार यात्रुको मृत्यु
नलसिंहगाड जलविद्युत् आयोजनाको बाँधस्थलसम्मको पहुँचमार्ग निर्माण गर्दा बाटो भत्किएपछि चारजनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार हिँड्दाहिँड्दै लडेर बारेकोट गाउँपालिका–७ का कालीबहादुर नेपाली, बारेकोट–४ का मानबहादुर बस्नेत, रुकुमका अनन्त कामीसहित चारजनाको मृत्यु भएको हो । उनीहरू चारैजनाले गत दुई वर्षमा ज्यान गुमाएका हुन् । ‘सडक बनाउने भनेर भएको बाटो पनि बिगारेका छन् । बिग्रिएकै बाटो हिँड्दा लडेर चारजनाको ज्यानै गएको छ । चोटपटक लागेको त हिसाबकिताबै छैन,’ बारेकोट–५ प्रेम शाहीले भने ।
स्थानीय बासिन्दालाई आवतजावत गर्न वैकल्पिक बाटो छैन
नलगाड नगरपालिकाको कालिमाटीदेखि बारेकोट गाउँपालिकाको लैखमसम्म पैदल बाटो हिँड्नुपर्छ । यो गाउँपालिकालाई सडकले छोएको छैन । जलविद्यत् आयोजनाको पहुँच मार्गले बाटो भत्काए पनि स्थानीय बासिन्दा त्यहीँबाट ओहोरदोहोर गर्छन् । ‘अर्को बाटो छैन, त्यसैले यही बाटो हिँड्नुपर्छ,’ बारेकोट–५ का जनकबहादुर शाहीले भने । स्थानीय बासिन्दाले दैनिक उपभोग्य सामान आयात गर्ने बाटो पनि यही नै हो । बाटो भत्किएपछि घोडा र खच्चरमा सामान ल्याउन पनि नसकिएको स्थानीय बासिन्दाले बताए । बालबालिका र वृद्धवृद्धालाई यात्रा गर्न झन् जोखिम रहेको उनको भनाइ छ ।
सेनाले विस्फोटक पदार्थ नदिएपछि पाँच महिनादेखि निर्माण ठप्प
जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भने असोजदेखि ठप्प छ । नौ किलोमिटर लामो पहुँचमार्गमध्ये तीनदेखि चार किलोमिटर मात्रै ट्र्याक खुलेको छ । त्यो पनि कालिमाटी भिरमै अड्किएको छ । यो भिर पनि तीन किलोमिटर लामो छ । भिरमा ट्र्याक खोल्न विस्फोटक पदार्थविना सम्भव नभएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी जाल्भा खड्का जेभीका प्रतिनिधि राजेन्द्र रावलले विस्फोटक पदार्थको अभावमा काम रोकिएको बताए । ‘सेनाबाट खरिद गर्नुपर्छ, सेनाले दिएको छैन,’ रावलले भने, ‘दसैँ–तिहारयता काम गर्न सकिएको छैन ।’
नयाँपत्रिका दैनिकबाट