भेनेजुएलाबारे प्रचण्ड भन्छन्– ‘मेरै वक्तव्य अधिकारिक’

दियो पोस्ट  

काठमाडौं, माघ १९ । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाको राजनीतिक संकट सम्बन्धमा आफूले निकालेको वक्तव्य आधिकारिक भएको उल्लेख गरेका छन् ।

‘भेनेजुएलाको राजनीतिक संकटको विषयमा नेकपाका अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको स्पष्ट गर्न चाहन्छौं,’ दाहालको निजी सचिवालयद्वारा शुक्रबार जारी स्पष्टीकरणमा छ, ‘केही सञ्चारमाध्यमले विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम सिर्जना गर्न खोजेको प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता भ्रामक र कपोकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गर्दछौं ।’

दाहालले गत शुक्रबार भेनेजुएलाको संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिकाप्रति कडा टिप्पणी गरेका थिए । अमेरिकाले भेनेजुएलामा साम्राज्यवादी ‘कु’ गर्न खोजेको दाहालको टिप्पणीप्रति अमेरिकी दूतावासले आपत्ति जनाउँदै सरकारको आधिकारिक धारणा मागेको थियो । सत्तारूढ दलका अध्यक्षको वक्तव्यले अमेरिका चिढिएपछि सरकारले केही नरम भाषामा वक्तव्य निकाल्दै भेनेजुएलाबारे मुख खोलेको थियो ।

दाहालको सचिवालयले आफ्नै वक्तव्यको निरन्तरतास्वरूप सरकारको वक्तव्य आएको संकेत गरेको छ । कान्तिपुर दैनिकबाट

सम्बन्धित खबर