काठमाठडौं, माघ २० । कांग्रेसले सोमबार ७७ वटै जिल्लामा गर्न लागेको सरकारविरोधी प्रदर्शनमा केन्द्रीय नेताहरू आफूूले रोजेकै जिल्लामा जान पाउने भएका छन् । केही दिनअगाडि पार्टी केन्द्रले नाम तोकेरै जिल्ला पठाउने जनाए पनि आफूलाई अनुकूल हुने जिल्ला छानेर केन्द्रीय नेता जान पाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘पहिले हामीले केन्द्रबाटै निर्णय गरेर सरकारविरोधी कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भनेका थियौँ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘२१ माघमा हुने सरकारलाई खबरदारी गराउने कार्यक्रममा नेताहरू आफ्नो अनुकूलतामा जान पाउनुहुन्छ ।’ नेताहरूको जिल्लाको रोजाइ र जिल्लाबाट माग भएअनुसार नेताहरूले छनोट गरेर जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुन पाउने शर्माले बताए ।
यसअघि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा जोडिएका अस्पताल संघअन्तर्गत राख्नुपर्ने माग गरेअनुसार सरकारले निर्णय गरिसकेको छ । चिकित्सा विधेयकअनुसार डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने माग कांग्रेसको थियो । कांग्रेसको विरोधका बीच यो विधेयक संसद्बाट पारित भइसकेको छ ।
यसरी गर्दै छ कांग्रेसले विरोधसभा
दुई विषय टुंगो लागे पनि कांग्रेसले निरन्तर खबरदारी गर्ने जनाएको छ । निर्मला पन्तले न्याय नपाएको, सरकार निरकुंश बन्दै गएको, भ्रष्टाचार बढेकोजस्ता विषय उठाउँदै कांग्रेसले सरकारको काममाथि खबरदारी गर्दै छ ।
विरोध कार्यक्रमका लागि ६ बुँदा घोषणा गरे पनि अब प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिविना संवैधानिक परिषद्को बैठक राखेर निर्णय गरेको, देशव्यापी रूपमा बढेको हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको, महँगी, भ्रष्टाचार एवं अनेकौँ जनविरोधी निर्णय गरेको र जिल्लास्तरमा रहेका स्थानीय मुद्दा उठाउँदै सरकारको विरोधमा जनमत बढाउन कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।
नयाँपत्रिका दैनिकबाट