जाली कागजातका आधारमा विदेशीले लिएका ३३९ नेपाली नागरिकता रद्द

दियो पोस्ट  

काठमाडौं माघ २३ । विदेशी नागरिकले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्द गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नागरिकता रद्द गरिएको बताए । 

नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता रद्द नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मात्रै हुन्छ । यसका लागि नागरिकतावाहकविरुद्ध नेपाल सरकारको आधिकारिक निकायमा उजुरी पर्नुपर्छ । छानबिनपछि गृह हुँदै उक्त उजुरी आवश्यक कारबाहीका लागि मन्त्रिपरिषद् बैठकमा पेस हुन्छ । मन्त्रिपरिषद्को
बैठकले आवश्यक ठाने उक्त नागरिकता रद्द गर्न सक्छ । 

प्रवक्ता सुवेदीले भने, ‘नागरिकता रद्द गृहले गर्ने होइन, परेको उजुरीलाई मन्त्रिपरिषद् बैठकमा पेस मात्रै गर्ने हो । उक्त नागरिकता रद्द गर्ने हो या होइन, त्यसको निर्णय मन्त्रिपरिषद् बैठकले गर्छ । अहिले जति पनि नागरिकता रद्द गरिएका छन्, सबै मन्त्रिपरिषद् बैठकबाटै भएका हुन् ।’

नागरिकता रद्द गर्न ३० भन्दा धेरै उजुरी गृहमा
नागरिकता रद्द गरिदिन भन्दै गृहमा अहिले ३० भन्दा धेरै उजुरी परेका छन् । जाली कागजात पेस गरी नागरिकता लिएको भन्दै गृहमा उजुरी परेका हुन् । गृहका अनुसार अधिकांश उजुरी सीमा क्षेत्र जोडिएका जिल्लाबाट आएका छन् । त्यसमध्ये पनि धेरै उजुरी जन्मका आधारमा नागरिकता लिएकाहरूविरुद्ध छन् । गृह मन्त्रालय नागरिकता शाखाका उपसचिव गंगाप्रसाद न्यौपानेले नागरिकता रद्दका ३० भन्दा धेरै उजुरी भएको बताए । 

गृहका अनुसार जन्मका आधारमा मात्रै नेपाल सरकारले एक लाख ९० हजार सात सय २६ नागरिकता वितरण गरेको थियो । पहिलो संविधानसभा चुनावअघि वितरण गरिएको उक्त नागरिकता लिने अधिकांश तराई जिल्लाकै बासिन्दा थिए ।

वंशजको नागरिकता लिने २ करोड ६ लाख 
गृह मन्त्रालयको तथ्यांकअनुसार वंशजको आधारमा नागरिकता लिनेको संख्या सबैभन्दा धेरै छ । नागरिकता वितरण भएदेखि गत असार मसान्तसम्म मुलुकभर वंशजका आधारमा नागरिकता लिनेको संख्या दुई करोड ६ लाख ३१ हजार पाँच सय ११ पुगेको छ । कानुनतः नेपाली नागरिकतावाहक बाबु वा आमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ । तर, बाबुको नागरिकताका आधारमा उसका सन्तानले वंशजको नागरिकता लिन जति सहज छ, आमाको नागरिकताको आधारमा लिन सहज छैन । गृहसँग आमाको नागरिकता प्रयोग गरी वंशजको नागरिकता लिएको तथ्यांक भने छैन ।

विदेशी अंंगीकृत नागरिकतावाहक ८ हजार ३ सय
गृहको तथ्यांकअनुसार नेपालमा १५ वर्षभन्दा धेरै बसोवास गरी नेपाली नागरिकता लिने विदेशीको संख्या आठ हजार तीन सय पुगेको छ । विदेशी अंगीकृत नागरिकता लिने यस्ता नागरिक अधिकांश भारतीय मूलका छन् । नेपालको नागरिकता ऐन ०६३ अनुसार नेपाली भूमिमा १५ वर्षभन्दा धेरै बसोवास गर्ने विदेशी नागरिकले अंगीकृत नागरिकता लिन सक्छन् । त्यसका लागि सम्बन्धित मुलुकको नागरिकता परित्याग गरेको निस्सा नागरिकता लिने कार्यालयमा पेस गर्नुपर्छ ।

वैवाहिक अंगीकृत नागरिकता लिने ३ लाख ९५ हजार 
नेपालको कानुनले वैवाहिक अंगीकृत नागरिकता लिने व्यवस्था गरेको छ । नेपाली पुरुषसँग विवाह गरी पतिको नाममा नागरिकता लिने विदेशी महिलाको संख्या तीन लाख ९५ हजार पाँच सय १९ पुगेको छ । कानुनले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई पनि वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने व्यवस्था गरेको छ । यस्ता नागरिकता लिनेको संख्या एक सय ५३ पुगेको छ । 

अंगीकृतका ७ सय ५४ सन्तान नेपाली नागरिक 
जन्मका आधारमा नागरिकता लिने नागरिकका सन्तानले पनि वंशजको नागरिकता लिन सक्छन् । तर, अभिभावकले नागरिकता लिएपछि मात्रै सन्तान जन्मेको प्रमाणित हुनुपर्नेछ । नागरिकता लिनुअघि नै सन्तान जन्मेको भए अंगीकृत नागरिकता लिन सक्छन् । यस्तो नागरिकता लिनेको संख्या सात सय ५४ पुगेको छ । नयाँपत्रिका दैनिकबाट

सम्बन्धित खबर