छाउपडी प्रथा हटाउने नीतिः गोठमा बस्न वाध्य बनाउने परिवारलाइ सरकारी सुविधा नदिइने

Diyo post  

बारा, माघ २५ । सामाजिक कुप्रथाको रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा हटाउनको लागि बाजुरा जिल्लाको मार्तडीमा विशेष अभियान चलाइएको छ । समाजबाट नकारात्मक रीतिहरुलाई जरैदेखि निर्मुल पार्नका लागि जिल्लाको बुढीनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाले सचेतनका कार्यक्रम संचालन गरेका छन् ।

गएको महिनामा मात्र जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठ बस्ने आमा र दुई छोराको मृत्यु भएपछि छाउपडी गोठ भत्काउनाका साथै गोठमा आउनउे खतराका बारेमा अभिमुखीकरण कार्यक्रमलाई पनि विशेष प्राथमिकतासाथ संचालन गरिन थालिएको छ ।

बुधबार मात्रै एक कार्यक्रम गरि बडिमालिका नगरपालिका–८ रापकमा छाउपडिले महिलाको शरिरलाई पार्ने समस्या र यसबाट निम्तन सक्ने खतराका बारेमा स्थानियवासीलाई जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै बडिमालिका–८ का वडाध्यक्ष प्रकाश रावलले सामाजिक कुप्रथाको रुपमा जकडिएर बसेको छाउपडि प्रथालाई हटाउनको लागि विशेषतः महिला नै अग्रसर हुनुपर्ने बताए । छाउपडि प्रथाकै कारण महिलाहरु अकालमा ज्यान गुमाउन वाध्य भएको बताए । उनले छाउ भएका बेला महिलालाई गोठमा भन्दा घरभित्र राख्न स्थानीयवासीलाई आग्रह गरे ।

छाउपडि प्रथालाई उन्मुलन गर्नका लागि हरेक गाउँका महिला र पुरुषहरु लागि पर्नुपर्ने सुझाव वडाध्यक्ष रावलले दिएका छन् । परिवारले छाउ भएको महिलाहरुको स्वास्थ्यमा समेत विशेष ध्यान दिन आग्रह गरेका छन् । छाउमा बस्न वाध्य गराउने परिवारलाई वडाबाट प्रदान गरिने सरकारी सेवा तथा सुबिधाबाट समेत बञ्चित गराइने उनले बताए ।

जिल्लाको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगलागीबाट आमा र दुई छोराको मृत्यु भएपछि घटना बारे स्थलगत अनुगमनका लागि ‘युएनडिपी’द्वारा पठाइएको ६ सदस्यीय सङ्घीय सांसदको टोली घटनास्थल नपुगेरै फर्किएको थियो । पोरखे लेखमा हिउँ बढी भएका कारण उक्त टोली बडिमालिका नगरपालिका–७ रजातोलीमा स्थानीयवासीसँग छाउपडी प्रथाका बारेमा छलफल गरेको फर्किएको थियो ।

नगरपालिकाको घटनाले जिल्लाका सरोकारवाला निकायको भने ध्यान गएको छ । छाउपडीको अवस्थाबारे गाउँपालिका तथा नगरपालिकाले कतै छाउगोठ भत्काउने त कतै प्रत्येक टोलमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित खबर