सुन तस्करी र सनम शाक्य हत्या प्रकरण : उच्च अदालतबाट १२ जनालाई थुनामै राख्न आदेश

दियो पोस्ट  

काठमाडौं, माघ २५ । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधका १२ अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । दुई अभियुक्तलाई भने जनही १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश सुनाएको छ । उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश लेखनाथ घिमिरेको संयुक्त इजलासले सो आदेश दिएको हो ।

अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार थुनामै राखेर पुर्पक्ष गर्न अन्तिम आदेश गरिएकामा भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, रामहरि सुवेदी, लक्षुबहादुर गुरुङ, रेवतकुमार आचार्य, बेनु श्रेष्ठ, छिरिङ बाग्ले घले, बालकृष्ण खड्का र ठाकुरप्रसाद ढुंगाना छन् ।

सलमान खान भनिने सैयद अकबर र डब्बु भनिने इम्तियाज उद्दिनलाई जिल्ला अदालतको आदेश बदर गर्दै जनही १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश भएको छ । यी १२ मध्ये आठजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो भने चारजनालाई धरौटीमा रिहा गरेको थियो । अब जिल्लाले धरौटीमा रिहा गरेका चारजनालाई पनि थुनामा पठाउने आदेश भएको छ ।

पाँच न्यायाधीश न्यायपरिषद् तानिए
सुन मुद्दाको सुनुवाइ र न्याय सम्पादनमा अनियमितता भएको आशंकामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित न्यायाधीशहरू सारंगा सुवेदी, उमेशकुमार सिंह, उमेशराज पौडयाल, नगेन्द्र लाभ कर्ण र थिरबहादुर कार्कीलाई छानबिनका लागि न्यायपरिषद्मा तानेका थिए ।

पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेललगायतलाई सादा तारेखमा छाडिएको थियो । सुन कारोबारीहरू राजकुमार दारुका, मदनप्रसाद घिमिरे, राजेन्द्रकुमार शाक्य, विमल पोद्दार, सञ्जय खेतान, माधव सिलवाल, रेवन्त आचार्य, मोतीराज श्रेष्ठ, विनोद अधिकारी, रामकुमार तिवारीलगायत अन्तिम आदेशबाट थुनामुक्त भएका थिए ।
नयाँपत्रिका दैनिकबाट

सम्बन्धित खबर