काठमाडौं, फागुन ७ । नेपाल–भारत सीमा क्षेत्रका तीन गुणाभन्दा बढी सीमास्तम्भ हराएका छन् । ८ हजार ५५४ सीमास्तम्भमध्ये २ हजार ३४४ वटा हराएको नापी विभागले जनाएको छ ।हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरूको खोजतलास जारी राखेको नापी विभागले स्पष्ट पारेको छ । कुल सीमास्तम्भमध्ये ४५७ वटा मात्र राम्रा अवस्थामा रहेका छन् । १ हजार ५५६ वटा सीमास्तम्भ पूर्ण क्षतिग्रस्त अवस्थामा रहेका छन् । २ हजार ८८९ वटा भने सामान्य क्षति भएको अवस्थामा पाइएको छ । ६९६ वटा निर्माण हुन बाँकी छ भने ११२ निर्माणाधीन अवस्थामा छन् ।
नापी विभागका प्रमुख नापी अधिकृत कृष्णप्रसाद सापकोटाले क्षतिग्रस्त र भत्किएका सीमास्तम्भको निर्माण कार्य भइरहेको जनाए । ‘नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले विभिन्न जिल्लामा सीमास्तम्भ निर्माण गर्नेगरी कार्य गरिरहेको छ,’ प्रमुख नापी अधिकृत सापकोटाले भने, ‘अधिकांश सीमास्तम्भ नदीनाला र खोलाले बगाएर हराएको देखिन्छ ।’
वर्षायाममा खोलामा पानीको वहाब बढ्दा सीमास्तम्भ भत्किएर जाने र निर्माण भने तत्काल हुने नगरेको पाइएको छ । नदीनाला क्षेत्रमा करिब ३ हजार सीमास्तम्भ छन् । ‘साना खोलाहरूमा १ हजार ५ सय र ठूला खोलामा पनि १ हजार ५ सयको हाराहारीमा स्तम्भ रहेका छन्,’ सापकोटाले भने, ‘नदीनाला र खोलामा रहेका सीमास्तम्भहरूको अध्ययन÷अनुसन्धान गर्नसमेत समस्या देखिएको छ । हामीसँग अत्याधुनिक प्रविधि पनि छैन ।’
प्रमुख नापी अधिकृत सापकोटाले नदीनालाबाट नोक्सानी नहुने गरी सीमास्तम्भ निर्माण गर्न सकेको खण्डमा मात्र हराउनबाट रोकिने बताए ।
जम्मा सिमा स्तम्भ –८५५४
हराएका २३४४
पूर्ण क्षति १५५६
सामान्य क्षति २८८९
निर्माण हुन बाँकी ६९६
राम्रा ४५७
निर्माणाधीन ११२
स्थगित ५००
कतिपय सीमास्तम्भ भने भारतले भौतिक पूर्वाधार निर्माण गर्नेक्रममा ध्यान नदिई भत्काइदिएको गुनासोसमेत स्थनीय स्तरबाट आउने गरेको छ । यस विषयमा नेपाल सरकारको ध्यान भने जान सकेको छैन ।
आर्थिक वर्ष २०७१÷७२ देखि चालू आर्थिक वर्ष २०७५÷७६ माघसम्ममा ३ हजार ४३७ वटा सीमास्तम्भको मर्मत तथा निर्माणको काम भएको सापकोटाले दाबी गरे । ‘२११ वटा रंगरोगन गर्ने काम भएको छ, १ हजार ९८४ वटा मर्मत भएका छन्, १ हजार २४२ वटा सीमास्तम्भ पुनः नयाँ नर्माण गरिएको छ,’ सापकोटाले भने । उनले सीमास्तम्भको विषयमा नियमित रूपमा नापीको ध्यानाकर्षण हुने गरेको बताए ।
सीमास्तम्भ निर्माणका लागि दुवै मुलुकले सन् १९१८ देखि संयुक्त कार्य गरे पनि विवाद समाधान हुन सकेको छैन ।
सन १९१८ देखि २००७ सम्ममा नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले निरन्तर अध्ययन गरेर नेपाल भारतको नक्साअनुसार ८ हजार ५५४ वटा सीमास्तम्भ भएको पत्ता लगाएको थियो । सन् २००७ देखि २०१४ सम्म नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण कार्य रोकिएको थियो । नेपाल–भारत सम्बन्धमा सुधार आएपछि सन् २०१४ मा तेस्रो संयुक्त आयोग गठन भएपछि नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण कार्यले निरन्तर पाएको थियो ।
नेपाल–भारत सरकारबीचको सम्बन्धमा तिक्तता आएपछि संयुक्त सीमा सर्वेक्षण कार्य रोकिएपछि होे । संयुक्त सीमा सर्वेक्षण रोकिँदा सीमा क्षेत्रका धेरै स्तम्भ पूर्णरूपमा क्षति भएका पाइएको सापकोटाले बताए ।
आगामी तीन वर्षभित्र स्तम्भ निर्माण कार्य सक्ने योजना रहेको छ । हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले चार जिल्लामा काम गरिरहेको छ । १ नम्बर टोलीले झापा र मोरङ, २ नम्बर टोलीले धनुषा, ३ नम्बर टोलीले रूपन्देही र कपिलवस्तु तथा ४ नम्बर टोलीले कैलालीमा सीमास्तम्भको काम गरिरहेको छ । राजधानी दैनिकबाट