सिन्धुली, फागुन ८ । सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ । नजिकका व्यक्तिबाट नै बलात्कारका घटना घटेको र बालिका बढी यसको सिकार बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको हो ।
सिन्धुलीमा विगत तीन वर्षको तथ्याङ्कअनुसार १६ वर्षभन्दा मुनिका बालिका बढी बलात्कारको सिकार भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
उमेर समूहका आधारमा आर्थिक वर्ष २०७२र७३ देखि तीन आवमा १६ वर्षभन्दा मुनिका १४, १६ वर्षदेखि २५ वर्ष उमेर समूहका किशोरी आठ, २५ वर्षदेखि ३५ वर्ष उमेर समूहका पाँच र ४५ वर्षभन्दा माथिका छ बलात्कृत भएको उनकाे भनाइ छ । यसबाट सबैभन्दा बढी बालिका पीडित बनेका छन् ।
सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका बालिका नै पीडित रहेको र अघिकांश बलात्कारका घटनामा छिमेकी र चिनजानका व्यक्ति नै पीडक रहेको प्रहरी उपरीक्षक सिंहले बताए ।
उनका अनुसार आव २०७२÷७३ देखि तीन आवभरिमा छिमेकीबाट १८, चिनजानका व्यक्तिबाट १५ र अपरिचित व्यक्तिबाट दुई यस्ता घटना भएका छन् । जसमा निरक्षर व्यक्तिबाट छ, सामान्य लेखपढ गर्न सक्ने व्यक्तिबाट १९, एसइई पास गर्ने व्यक्तिबाट चार र सोभन्दा माथि शैक्षिक योग्यता भएको व्यक्तिबाट एक घटना घटेको छ ।
जबरजस्ती करणीका घटना न्यूनीकरणका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै प्रहरी उपरीक्षक सिंहले त्यस्ता कार्यक्रमतर्फ प्रहरी अग्रसर हुने बताए ।
बलात्कार हुनेमा विवाहितभन्दा पनि अविवाहितको सङ्ख्या धेरै रहेको छ । “तीन वर्षको तथ्याङ्क हेर्दा पनि विवाहित ११ र अविवाहित २७ बलात्कारको सिकार भएको पाइयो, हालसम्म आव २०७२र७३ मा १५, २०७३र७४ मा १२ र चालू आवको सात महीनामा ११ घटना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएका छन्”, उनले भने ।
जबरजस्ती करणीका घटना बिहानकै समयमा बढी हुने गरेको र महीनाको हिसाबले पनि असोज र कात्तिकमा यस्ता घटना बढी रहेको उनको भनाई छ ।
प्रहरी एक्लैले यस्ता घटना न्यूनीकरण गर्न नसक्ने भन्दै उनले प्रहरीले ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत यस्ता घटना न्यूनीकरण गर्ने लक्ष्य रहेको बताए ।
बलात्कारका घटना न्यूनीकरणका लागि प्रहरीले सिन्धुलीका सबै विद्यालय र समुदायमा जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम गर्ने लक्ष्य रहेको पनि प्रहरी उपरीक्षक सिंहको भनाइ छ ।
प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको र यसको अवधारणाले पनि अपराधमुक्त समाज बनाउन सहयोग पुग्ने भएकाले समुदायका साना बालबालिकादेखि सबैसँग सहकार्य गरिने उनको भनाई छ । बलात्कारजन्य घटना न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन हुने र यसमा जिल्लामा क्रियाशील सामाजिक सङ्घसंस्थासँग पनि साझेदारी गरिने उनले बताए ।
समुदायमा जनचेतनाको कमी, पुरातन सोच तथा घर परिवारका अभिावकको रिसइवीका कारण बालिका बलात्कारको सिकार पर्ने गरेको उनले बताए ।
अबोध बालिकाले त्यस्ता नजिक व्यक्तिसँग क्रूर मानसिकताको बारेमा बोध गर्न नसक्ने भएकाले आफु कहाँ जाँदैछु र कोसँग जाँदैछु भनेर बालिकाले पनि घरपरिवारका अभिभावकलाई जानकारी गराउने र कहीँकतै कुनै पनि व्यक्तिबाट त्यस्ता क्रियाकलाप गर्ने आशयले कुनै पनि गतिविधि गरे तत्काल अभिभावकलाई खबर गर्ने र प्रहरीलाई जानकारी गराए त्यस्ता व्यक्तिलाई कारवाही गरिने उनको भनाई छ ।
कतिपय बलात्कारका घटना प्रहरीसम्म नआई स्थानीयस्तरमै मेलमिलाप गराउँदा बालिका सदैव पीडित बन्ने र पीडकको मनोबल बढ्ने उहाँको भनाइ छ । जघन्य अपराध गर्नेलाई कारवाही गर्नुपर्ने भएकाले समुदायस्तरमा मेलमिलाप नगराई कानूनी प्रक्रियामा आउन पनि उनले बताए ।
सिन्धुलीमा दर्जनौँ सामाजिक सङ्घसंस्थाले घरेलु हिंसा, बलात्कार न्यूनीकरण, बालविवाह रोक्ने सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि लक्षित वर्गसम्म नपुगी सुविधासम्पन्न स्थान सिन्धुलीमाढीमा मात्र छलफल गर्ने गरेको गुनासो आउने गरेको छ । जिल्लामा रहेका सामाजिक सङ्घसंस्थासँग मिलेर अब जनचेतनामूलक कार्यक्रम स्थानीय समुदायस्तरसम्म सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।