आयुर्वेद अस्पताल औषधिविहीन, स्थानीय तह र प्रदेश सरकारले बेवास्ता गर्दा बिरामी मारमा

दियो पोस्ट  

काठमाडौं, फागुन ११ । बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालय औषधिविहीन भएको छ । निःशुल्क उपचार र औषधि पाउने आशामा दैनिक औसत ७० बिरामी आउने सो अस्पताल तीन महिनादेखि औषधिविहीन भएको छ । स्वास्थ्य जाँच गर्न आउने बिरामीहरू औषधि नपाएपछि निराश भएर फर्कने गरेका छन् । अस्पतालका प्रमुख आयुर्वेद चिकित्सक नलिननाथ तिवारीले अस्पतालबाट २३ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि अहिले सबै सकिएको बताए । विगतमा केन्द्र सरकारअन्तर्गत आयुर्वेद अस्पतालमा औषधि आउने गरेको थियो । चालू आर्थिक वर्षमा पहिले स्थानीय तहमार्फत र पछिल्लो समय प्रदेश सरकारबाट औषधि आउने भनिए पनि कहिले आउने टुंगो छैन । 

चालू आर्थिक वर्षमा सो अस्पतालमा तीन लाखबराबरको औषधि आएको थियो । तीन लाखको औषधिले बढीमा ५० दिनलाई काम चलाउन सकिने अस्पतालका स्वस्थ्यकर्मीहरूको भनाइ छ । कम्तीमा २० लाखबराबरको औषधि भए एक वर्षलाई काम चलाउन सकिने उनीहरूको भनाइ छ । बुटवल उपमहानगरपालिकाबाट तीन लाखबराबरको औषधि खरिद भएको थियो । सो औषधि तीन महिनाअगाडि नै सकिएको छ । औषधि खरिदका लागि पटक–पटक उपमहानगरपालिका तथा प्रदेशको सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्दा कुनै सुनुवाइ नभएको अस्पतालका पदाधिकारीको भनाइ छ । 

अस्पतालका कविराज निरीक्षक गणेश सापकोटा धेरै ठाउँमा जचाउँदा पनि निको नभएका बिरामीसमेत आउने गरेको बताए । पछिल्लोपटक औषधि उपलब्ध गराउन नसक्दा अप्ठ्यारो भएको बताए । सेवा लिन आउने कुनैकुनै बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्ने र बेडमा सुताएर उपचार गर्नुपर्ने हुन्छ । तर, अस्पतालमा बेडको समेत अभाव छ ।अस्पताल प्रदेश सरकारमातहत आएको घोषणा गरे पनि प्रदेश सरकारले नाम परिवर्तन गर्नका लागि बोर्ड तथा लेखनको कामसमेत गरेको छैन । नयाँपत्रिका दैनिकबाट