काठमाडौं, फागुन १६ । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकमा अनियमितताको श्रृखंला चुलिएको छ । जिल्ला संघमा भएको अनियमितताको श्रृंखला रोक्न नेकपाको पुरै टिम मरेर लागेको छ ।
राष्ट्रिय सहकारी संघमा केशव बडाल अध्यक्ष भए देखि नै जिल्ला अध्यक्ष विनोद पराजुलीले उनकै आडमा लाखौ भ्रष्टाचार गरेका हुन् । सहकारी मन्त्रालय र विभागबाट प्राप्त रकममा नक्कली कागजात तयार गरी पराजुली लगायत सचिव दिलिप जंगम, सदस्य ठाकुर अधिकारी, राजन शाक्य, नारायण लम्साल, डिल्ली आचार्य, रणबहादुर खनाल, कमला अधिकारी, राधिका घिमीरे, कमल कुईकेल, यदुनाथ हुमागाई, राजु श्रेष्ठ समेतको मिलेमत्तोमा अनियमितता भएको हो ।
जिल्ला सहकारी सघका नाममा प्राप्त ७६ लाख रुपैया सहकारी संघको खातामा जम्मा नगरिएको रहस्य खुलेको छ । सहकारी बजार विकास कार्यक्रमका नाममा पहिलो किस्ता बापत २१ लाख र दोश्रो किस्ता बापत ३५ लाख रकम प्राप्त भएको छ । ‘रकम आएको कुरा सत्य हो, त्यहि कार्यक्रम अन्र्तगत करारमा कर्मचारी राखिएका छन् तर सहकारी संघको आम्दानी देखिदैन’– एक संचालकले भने –‘सहकारीको संघको विधानमा संचालक समितिको पदाधिकारी र प्रवन्धकको नाममा खाता खोल्नु पर्ने ब्यवस्था छ ।’
संघमा आम्दानी नदेखाई ७६ लाख रकम अध्यक्ष विनोद पराजुली र करारका कर्मचारी सुदन श्रेष्ठका नाममा खाता खोलेर मनलाग्दी रुपमा चलाईएको छ । करारका कर्मचारीको समयावधी फागुन २० मा सकिदैछ । कोषाध्यक्ष रामकृष्ण अधिकारीलाई समेत रकम आम्दानीको कुरा जानकारी भए पनि खर्च र खाताका विषयमा जानकारी छैन ।
साविक नेकपा एमालेको तर्फबाट निर्वाचित टिम मध्येका अधिकांश जनप्रतिनिधि भएका छन् । रकम लुट्ने र अनियमितता गर्ने सन्दर्भमा कुशादेवीकी कमला अधिकारी देखि बनेपाकी राधिका घिमीरे, नालाका रेशम नेपाली देखि कुन्ताका डिल्ली आचार्य समेतको एक मत छ । सचिव दिलिप शर्माका बाबु सुर्दशन जगंमका नाममा रहेको २०४० साल अघिको बक्यौता अझै असुल भएको छैन ।
बनेपा नगरपालिकामा बुझाउनु पर्ने बार्षिक सम्पती कर यहि कार्य समिति निर्वाचित भए देखि बुझाईएको छैन भने खानेपानीको महसुल समेत बुझाईएको छैन । वर्तमान नेतृत्व तथा धुलिखेल नगरपालिका वडा नम्वर ३ का अध्यक्ष समेत रहेका विनोद पराजुली, रिमरेक तथा विभिन्न संघ संस्थामा बसेर किर्ते कागजात बनाउन खप्पिस सचिव दिलिप जंगम शर्मा र सहकारीको ब्यवस्थापक भई सहकारी ऐन विपरित संचालकमा बसिरहेका नेकपा पाँचखालका ठाकुरनाथ अधिकारीको मिलेमत्तोमा किर्ते, जालसाँझी र भ्रष्टाचार गरेको कर्तुत सार्वजनिक भएको छ ।
जिल्ला सहकारी संघमा आवश्यक पर्ने सामाग्रीहरु छपाईका लागि किर्ते कागजात तयार गरि पेश गरिएको छ । सगुन प्रिन्टर्स धुलिखेलको नाममा २०७४ साल साउन १२ गते दर्ता गरिएको कोटेशन नक्कली हो । त्यसका प्रोपाईटर जीवन श्रेष्ठलाई जानकारी नै नदिई उनको कम्पनीको छाप, लेटरप्याड तयार गरी जिल्ला संघमा कोटेशन पेश गरिएको छ । सगुन प्रिन्टर्सका प्रोपाईटर जीवन श्रेष्ठलाई समेत कोटेशनका बारेमा जानकारी छैन । कोटेशनमा भएका सबै सामाग्री छापिएका छैनन । कम दररेटको कोटेशन लुकाईएको छ ।
नेपालसमाचारपत्र दैनिकबाट