धादिङ रेडक्रस विघटनको संघारमा, नेकपा नेताको हस्तक्षेपपछि निर्वाचन नै स्थगित !

धादिङ रेडक्रस विघटनको संघारमा, नेकपा नेताको हस्तक्षेपपछि निर्वाचन नै स्थगित !

दियोपोस्ट संवाददाता
धादिङ, १० फागुन । जिल्ला रेडक्रस शाखा धादिङ औपचारिक रुपमा विघठनको संघारमा पुगेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको जिल्ला नेताहरुको भागबण्डा नमिलेका कारण रेडक्रसको ११ औँ साधारण सभाको कार्यक्रम उद्घाटन भएपनि निर्वाचन भने स्थगित भएको हो ।


विहिबार शुरु भएको साधारण सभाले शुक्रबार नेतृत्व चयन गर्ने कार्यक्रम थियो । तर, साधारण सभा चलेपनि निर्वाचन भने स्थगित भयो ।


फागुन ८ गतेदेखि रेडक्रस जिल्ला धादिङ शाखा कार्यसमिति विहिन समेत भएको छ ।
स्रोतका अनुसार हालका सभापति सिताराम कोइरालाले आफू सभापति बन्ने वातावरण नदेखेपछि निर्वाचन नै स्थगित गराएका हुन् ।


उनले नेकपाका जिल्ला नेताहरुलाई गुहार मागेका थिए । नेकपा भित्र पनि रेडक्रसमा पूर्व माओवादी केन्द्रको हालीमुहाली छ । माओवादी केन्द्रबाट २०७१ सालमा पार्टी निर्णयबाटै सभापति बनेका सिताराम कोइरालाकै निर्देश्नमा यसअघि पनि अधिवेशन स्थगित हुँदै आएको थियो ।


‘नेकपाले रेडक्रसलाई आफ्नो भातृ संगठन जस्तो गरी सञ्चालन गर्न खोज्यो,’ रेडक्रसका एक अधिकारी भन्छन्,‘पार्टीको भातृ संगठनमा जस्तै यहाँ पनि ६०÷५० को भागवण्डाको कुरा आएको थियो । भूकम्पको क्रममा लाखौं रुपैयाँ अनियमितता गरेको विषय समेत सार्वजनिक भएपछि हालका सभापति विवादित बन्नु भएको छ । उहाँले यहि कारण निर्वाचन हार्ने निश्चित भएपछि निर्वाचन नै हुन दिनुभएन ।’


गत माघ मसान्तमा रेडक्रस केन्द्रले एक वर्षको म्याद थपेको थियो । केन्द्रले थपेको म्याद समेत सकिएको छ । फागुन १ गतेदेखि रेडक्रसले कुनै पनि आर्थिक कारोबार समेत गर्न पाएको छैन । १३७ जना रेडक्रस प्रतिनिधिले आफ्नो नेतृत्व चयन गर्न नपाएपछि चौतर्फी विरोध गरिरहेका छन् ।

Trending News