देशको घाउ देख्न सक्ने ज्ञान बोकेको पुस्तक ‘अस्मिता’

दियो पोस्ट  

–भरत पोखरेल
नारायण गोपालले कुनै गाएका थिए,– ‘मलाई नसोध कहाँ दुख्छ घाउ…. ?’ यो उनको प्रेम पीडा हुनसक्छ तर ‘अस्मिता’ उपन्यास भने पूरै राष्ट्रको पीडा उजागर गर्न सफल बनेको छ ।


यो पुस्तक पढ्न सजिलो छ, सरल र शिष्ट भाषाशैलीमा लेखिएको छ । देशका विभिन्न क्षेत्रका घाउचोटहरु उपन्यासले समेट्ने प्रयास गरेको छ । देशमा विद्यमान कुशासनलाई यसले प्रष्टसँग व्याख्या गरेको छ । सत्तासिनहरु सत्तामा पुगेपछि मात्तिने र पात्तिने विषयबस्तु कथाको माध्यमबाट पाठकलाई बुझाउन खोजिएको छ । गरिब, दलित र जनजातिलाई धर्म परिवर्तन गराउन खेलिएको खेल पनि यहाँ समावेश छ । होली वाइन खाएर क्रिश्चियानिटी बढाएका नेताहरुलाई ‘अस्मिता’ ले कठोर व्यङ्ग्य प्रहार गरेको छ ।


पार्टीका लागि घरपरिवार त्यागेर लागेका इमान्दार कार्यकर्ताहरु पछि पर्ने तर नेताको वरपर घुमेर रिझाउनेहरु सत्तामा पुग्ने खेल राजनीतिमा बढ्दै गएको सत्यतालाई उपन्यासले उजागर गरेको छ । उपन्यासकार के.आर. दाहालका हातहरु इन्जिनियरिङ्ग पेशामा लागेर रेखा कोर्न अभ्यस्त थिए तर तिनै नक्शा कोर्ने हातले भाषा साहित्यमा कलम चलाएर यतिखेर तमाम नेपालीलाई चकित पारेका हुन् ।
राजनीति भनेको ठूलाबडाले कमाईखाने पेशा हो । सेवा छैन भन्ने व्यङ्ग्य गरिएको छ । त्यस्तै सिंहदरबार र वालुवाटारमा बस्नेहरु पनि सुखी छैनन्, दुःखका साथ जीवन बिताएका छन् भन्ने सन्देश ‘अस्मिता’ ले प्रदान गरेको छ ।


यो उपन्यासमा धेरै राम्रा पक्षहरु छन् । तर कतै केही अझै थप गरेको भए सुनमा सुगन्ध हुने थियो । जस्तै हिन्दूधर्म नासिदै जानु र इसाई धर्म फैलदै जानुमा सत्ताधारीहरुको ठूलो कमजोरी हो । यसको समाधान पनि पक्कै छ । यसमा लेखकले हिन्दूधर्म जोगाउन खोजी गरे जस्तो देखिन्छ तर त्यसको बाटो पहिल्याउन नसके जस्तो लाग्छ । त्यस्तै इशाइहरु संगठित रुपमा धर्म परिवर्तन गराउन जुर्मुराएका छन् । र हिन्दूहरु त्यसलाई रोक्न असफल भएका छन् । यो सभ्यतालाई उपन्यासले छोएको छ तर गहिराईमा भने पुग्न सकेको छैन ।


‘अस्मिता’ उपन्यासले विविध पक्षहरु समेटेको हुनाले एकपटक सबैले पढ्दा ज्ञानको उर्जा थपिने छ । सरल ढंगले वास्तविक तथ्य पुस्तकमा उतार्न सफल लेखक डा.के.आर. दाहाल आगामी दिनमा अझ राम्रा कीर्तिहरु प्रकाशन गर्न सकून् यही मेरो शुभकामना छ ।

सम्बन्धित खबर