तारे होटल बनाउन बजगाइँद्वारा टुकुचा खोला कब्जा प्रकरण : वडाध्यक्ष भन्छन्, ‘पैसा खाएँ !’

तारे होटल बनाउन बजगाइँद्वारा टुकुचा खोला कब्जा प्रकरण : वडाध्यक्ष भन्छन्, ‘पैसा खाएँ !’

काठमाडौं, २४ माघ । काठमाडौं महनगरपालिका वडा नम्बर ४ स्थित टुकुचा खोला कब्जा गरेर निर्माणाधिन तारे होटलको अनुगमनमा सरोकारवाला निकायले उदासिनता देखाएका छन् ।
कालोधनको शंकाष्पद कारोबारमा समलग्न विवादास्पद व्यापारी राजेन्द्र बजगाइँद्वारा निर्माण गरिउको होटल वर्णबासले टुकुचा खोला नै कब्जा गरेको छ ।


गौरीधाराचोकबाट बालुवाटार नपुग्दै पेट्रोल पम्पको ठिक अगाडी निर्माणाधिन भवनले सरकारले बनाएको मापदण्डलाई खुलमखुल्ला लत्याएको छ ।


संघीय मामिला तथा स्थानिय विकास मान्त्रालयले जारी गरेको वस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ (पहिलो) संशोधनको बुँदा नम्बर १४ (क ७) (च)मा परम्परागत पानीको मुहान, निकास, प्राकृतिक ताल, धाप, नदी, पोखरी, धारा, कुवा, कुण्ड, ढुंगेधारा इनार आदि मास्ने वा प्रतिकुल असरपर्ने गरी कुनैपनि संरचना निर्माण गर्न दिइने छैनौँ’ भन्ने उल्लेख छ ।


उक्त मापदण्ड अनुसार पोखरी जलासयको डिलबाट ५ मिटर, कुवा ढुङ्गेधारा, सिमाबाट ४ मिटर, इनारबाट बाहिरी घेराबाट ४ मिटर र कुलोको केन्द्र रेखाबाट ४ मिटर दूरी छोडेर मात्रै भवन निर्माण गर्नुपर्ने हुन्छ । तर, बजगाइँले भने ४ मिटर छाड्नु त कहाँ हो कहाँ उल्टै टुकुचा खोलाको धार नै परिवर्तन गरेर होटल निर्माण गरिरहेका छन् ।


यस विषयमा समाचार प्रकाशन गर्नुअघि दियोपोस्टले काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहन विष्टलाई सम्पर्क गरेको थियो । उनले भोली नै अनुगमनका लागि ईन्जिनियर पठाइदिने वचन दिएका थिए । तर, भोलीपल्ट उनले अनुगमन गर्न कोही पठाएनन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहन विष्ट

दियोपोस्टले उनले अनुगमन गर्ने वचन दिएको दिनभन्दा भोलीपल्ट अर्थात शुक्रबार उनलाई सम्पर्क गर्दा शुरुमा उनी ओली समुहको जुलुशमा रहेको भन्दै फोन काटे । आमसभा सकिएपछि उनलाई सम्पर्क गर्दा उनले अनुगमन गरिरहनु नपर्ने अभिव्यक्ति दिए । ‘खोला मिच्न तपाईंको मिलेमतो हो ?’ भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘समाचार आइसकेपछि सकियो नी । समाचार आएपछि जाँच गर्न इन्जिनियर पठाउनु के हो र ? समाचार लेखिसकेपछि च्याप्टर सकियो । मोहन विष्टले पैसा खायो भनेर लेखिदिनुस् ।’

आफूलाई पर्यटन व्यावसायी र नेपाली कांग्रेसको नेताको रुपमा चिनाउँदै आएका क्यासिनो व्यावसायी राजेन्द्र बजगाइँले यो भवन निर्माण गरेका हुन् ।

राजेन्द्र बजगाइँ


नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार बनेका बजगाइँ पर्यटन व्यावसायी समेत हुन् । उनीमाथि ‘कालोधन ओसारपोसार’को गम्भिर आरोप समेत छ । निर्माणाधिन होटलमा समेत शंकाष्पद लगानी रहेको स्रोत बताउँछ ।

नेपाली कांग्रेसका तर्फबाट गोरखाको प्रदेश १ खबाट प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका उनले उक्त होटलमा ट्याक्स हेवनको विवादास्पद लगानी भित्र्याएका छन् ।


उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको स्रोतले बताएको छ । बजगाईसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपैयाँ नेपालमा लगानी आएको सोही रकम उनले खोला कब्जा गरेर बनाइएको विवादास्पद होटलमा लगानी गरेका छन् ।


ब्रिटिश भर्जिन आयरल्याण्ड कालोधनको कारोबार हुने पहिलो मुलुक हो । खोला मिचिएको विषयमा प्रतिक्रिया लिन दियोपोस्टले उनलाई यसअघि नै सम्पर्क गरेको थियो । उनले भनेका थिए,‘हामीले त्यस्तो गरेका छैनौँ । नक्सा अनुसार नै निर्माण गरेका हौँ । कसले भन्यो तपाईंलाई ? गएर नापेर हेरे थाहा हुन्छ । हामीले त्यस्तो गरेका छैनौँ । खोला जहाँबाट बग्नुपर्ने हो बगिरहेको छ ।’

Trending News