म्यानपावर गुण्डाद्वारा निर्घात कुटिएका दशरथको बयान : ‘गेटको ताल्चा लगाएर ज्यानै लिन खोजे’

diyopost.com
दियो पोस्ट  बुधबार, माघ १९, २०७८ | २:३७:४६

 

काठमाडौं । मंगलबार दिउँसो राजधानीको त्रिपल स्टार म्यानपावरमा पीडितलाई लिएर प्रश्न गर्न पुगेका केही संचारकर्मीसहित सामाजिक अभियान्तालाई गुण्डाहरुको समुहले आक्रमण गरेको छ । आक्रमणमा परि अभियान्तासहित ३ जना घाईते भएका छन् । घाइते भएकाहरुलाई राजधानीको ग्रिनसिटि अस्पतालमा राखेर उपचार गरिँदैछ । अस्पतालको बेडमा रहेका घाइते दशरथ भण्डारीले दियोपोस्टसँग घटनाबारे विस्तृत बयान दिएका छन् । प्रस्तुत छ उनको भनाई जस्ताको तस्तै :

ट्रिपल स्टार नामक म्यानपावरले १२ जना नेपाली युवाहरुलाई भिजिट भिषामा युएई पुर्याएर आर्म्स गार्डमा काम लगाइदिन्छु भनेर प्रलोभन दिएको रहेछ । एक लाख २० हजार तलब हुन्छ भन्दै प्रतिव्यक्ति ७ लाखदेखि ८ लाख रुपैयाँसम्म लिएर नेपाली युवाहरुलाई दुबई पुर्याइएको रहेछ । १२ जना नेपाली युवाहरुलाई ३ महिनाअघिदेखि काम लगाउन म्यानपावरले नसकेपछि उनीहरु विचल्लीमा परेका रहेछन् । यही फेब्रअरी ९ तारिकमा उनीहरुको भिषाको अवधि सकिँदै थियो । म्यानपावरले काम नदिएर विचल्ली बनाएपछि ती पीडितहरु हाम्रो सम्पर्कमा आए । ‘हामी विचल्ली भयौँ । कि नेपाल आउनु पर्यो की यतै काममा लगाइदिनु पर्यो,’ उहाँहरुले भन्नु भएको थियो । हामीले भन्यौँ,‘तपाईंहरु काम गर्न जानु भएको हो । पहिलो प्राथामिकता कामलाई दिनुस् । अझैपनि म्यानपावरले खोजिदिन सक्छ भने कोशिस गर्नुस् ।’

 

उहाँहरुबाटै प्राप्त लिस्ट अनुसार मैले उक्त म्यानपावरका सञ्चालसँग सम्पर्क गरेँ । यसअघि २/३ चरणमा कुराकानी पनि भयो । म्यानपावर सञ्चालक हरिकाजी गुरुङ हुनुहुन्छ । अर्को सञ्चालक रुद्र राना हुनुहुन्छ । हामी त्यहाँ पुग्दा उनीहरु दुबै जना थिएनन् । त्यहाँ गएर हाम्रो मोबाइलबाट फोन गर्यौँ उनीहरुले फोन उठाएनन् । त्यहीँको स्टाफको नम्बरबाट फोन गर्यौँ । फोन उठ्यो । हामी यसरी कुरा गर्न आएका छौँ भनेर जानकारी गरायौँ । करिब साढे ११ बजेको कुरा हो । त्यसपछि उनीहरुले हामीमाथि कुटपीटको योजना बनाएछन् । १२ बजे सर आइपुग्नु हुन्छ भनेर हामी कुरेर बस्यौँ । तर, उनीहरु हाम्रो ज्यान मार्ने योजना बनाइरहेका थिए । पीडित ६ जना थिए । मिडियाकर्मी ४ जना थिए । हामी अभियान्ता २ जना थियौँ । उनीहरुले म्यानपावरमा भएका सबै गुण्डाहरु जम्मा गर्न थालेछन् । करिब १ सयजना भन्दा माथि गुण्डाहरु एकाएक हामी भएको स्थानमा आए । कुनै संवाद भएन । अचानक कुटपीट शुरु भयो । त्यस्तो अहिलेसम्म मैले कहिल्यै देखेको थिएन । क्यामेरा खोसेर हाम्रो टाउकोमा बजार्न थाले । जो अगाडी भेटिन्छ उसैलाई कुट्न थाले । मेरो टाउकोमा पनि २÷३ पटक क्यामेरा फुटाए । ढुंगा, ईट्टा र रड जे पायो त्यहीले हान्न थाले । उनीहरुको उद्देश्य नै मान्छे मार्ने जस्तो थियो । भिडियो क्लिपमा देखिएको रहेछ । सय जनाले एकै थपड हान्दा पनि मान्छे मर्छ नी । त्यसरी हामीमाथि आक्रमण भयो । हामीमाथि आक्रमण गर्ने सबै मैले चिनेको छु । निसान म्यानपावरका पनि मानिसहरु थिए । १५÷२० जना बाहिरका गुण्डाहरु बोलाएका थिए ।

प्रहरीको भूमिका शंकाष्पद !

मेरो टाउको फूटेपछि म सडकको पेटीमा बसेँ । प्रहरी आयो । पहिले उनीहरुले गेटको ताल्चा लगाएर हामीलाई बन्धक बनाएर कुटेका थिए । गेट खुलेपछि ती मान्छेहरु बाहिर आए । प्रहरीले हामीलाई छेक्ने काम मात्रै गर्यो । जब एकजना ईन्सपेक्टर साप आउनु भयो । त्यसपछि उनीहरु भागेका हुन् । प्रहरीको भूमिका शंकाष्पद छ ।

अहिले मेरो टाउकोमा चोटपटक छ । जिउमा निलडाम छ । दुवै आँखामा पट्टी बाँधेको छु । म अहिले ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेको छु ।

सम्बन्धित खबर