काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई सरकारले मापदण्ड विपरित नेपाल प्रहरीको सुरक्षागार्ड दिएको खुलेको छ ।
उनलाई काठमाडौं जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा सुरक्षा गार्ड उपलब्ध गराइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु कुमार केसीले जानकारी दिए ।
ढकाललाई सुरक्षा गार्ड उपलब्ध गराइएको विषयमा प्रतिक्रिया लिन प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललको मोबाइलमा फोन गर्दा उनले फोन उठाएनन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी उमाकान्त अधिकारीलाई सम्पर्क गर्दा उनले ढकाललाई सुरक्षागार्ड दिएको विषय आफूलाई जानकारी नभएको बताए । यसअघिकै प्रमुख जिल्ला अधिकारीको पालामा दिएको हुन सक्ने उनले संकेत गरे ।
विशिष्ट व्यक्तिलाई प्रदान गरिने सुरक्षागार्डका विषयमा तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादलको कार्यकालमा निर्देशिका जारी भएको थियो ।
जारी निर्देशिका अनुसार धेरै भिआइपीको सुरक्षागार्ड फिर्ता भएका थिए । तर, राजनीतिक दलका नेताको सुरक्षागार्ड खोसेर तत्कालिन सरकारले व्यापारीको सुरक्षामा नेपाल प्रहरीको कर्मचारी दुरुपयोग गरेको थियो ।