‘बाजेको पालाको भरुवा बन्दुक’ भेटिएको भन्दै प्रहरीद्वारा २ गरिब तामाङ विरुद्ध खरखजना मुद्दा !

diyopost.com
दियो पोस्ट  मंगलबार, माघ २५, २०७८ | १९:३३:१४

काठमाडौं । प्रहरीको फरार सुचीमा ठूला–ठूला अपराध गर्नेहरु छन् । सर्वोच्च अदालत, जिल्ला अदालत र विभिन्न अदालतबाट कैद फैसला भएका सयौँ अपराधी खुलमखुल्ला समाजमा हिडिरहेका छन् । तर, महानगरीय प्रहरी बृत ललितपुरले भने बाजेको पालाको भरुवा बन्दुक पाखोमा भेटिएको भन्दै दुई जना व्यक्तिलाई हातहतियार खरखजना मुद्दा लगाएको छ ।

नेपालीहरुले आफै निर्माण गरेको परम्परागत भरुवा बन्दुक एक समय हरेक नेपालीको घरमा हुने गर्दथ्यो । ललितपुरक महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल घर भएका ४० वर्षिय राम कुमार नसुर र ३२ वर्षिय जगत बहादुर भोम्जनलाई चापागाउँ प्रहरीले हातहतियार खरखजनाको मुद्दा लगाएको हो ।

पक्राउ परेका संजय भोम्जनले दिएको बयान अनुसार उनको घरमा बाजेको पालादेखि नै भरुवा बन्दुक थियो । प्रहरीले घरको छानोमा भरुवा बन्दुक फेला पारेको भन्ने प्रतिवेदन तयार पारेको छ भने भोम्जनले पाखो बारीबाट हतियार बरामद गरेको बयान दिएका छन् ।

नेसुरले दिएको बयानमा पनि बाजेकै पालामा रहेको भरुवा बन्दुकबारे खुलाएका छन् ।

‘मेरो स्वर्गिय बाजे आईत सिंह नेसुरको पालादेखि घरमा नै रहेकोमा २०७२ सालको विनाशकारी भूकम्पले हाम्रो घर भत्किदा बन्दुक समेत सोही घरको भग्नावशेषमा पुरिएकोमा २०७८ जेठ महिनामा सो पुरानो क्षतिग्रस्त घरमा बस्तुभाउ बाँध्ने गोठ बनाउनका लागि ढुंगा, माटो पञ्चाउने क्रममा मेरो बाजेको पालाको भरुवा बन्दुक फेला पारी केही समय घर नजिकैको जंगलको पाखोमा लगि फालिदिएको थिएँ,’ उनको बयानमा भनिएको छ,‘त्यसको केही समयपछि मेरो छोराहरु जंगल जाँदा सो बन्दुक भेट्टाएर घरमा ल्याएको हुँदा मैले सो बन्दुक भूकम्पले क्षतिग्रस्त घरको छानोमा सिउरेर राखेको थिएँ । गत माघ १ गते उनलाई गोठमा बन्दुक लुकाएको भन्दै महानगरीय प्रहरी बृत चापागाउँको टोलीले पक्राउ गरेको हो ।

स्थानिय राज लामा भोम्जनका अनुसार पक्राउ परेका नेसुर ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका निकै नाजुक आर्थिक अवस्था भएक व्यक्ति हुन् । उनका अनुसार नेसुर र भोम्जनले भरुवा बन्दुक साथमा राखेर कुनैपनि अवैध गतिविधि गरेका थिएनन् । त्यस्तै स्थानिय तारा तिमिल्सिनाका अनुसार पनि पक्राउ परेका नेसुर सामान्य आर्थिक अवस्था भएका व्यक्ति हुन् । स्थानिय चन्द्र लाल भोम्जनले राम कुमार पक्राउ पर्दा उनको परिवारको विचल्ली भएको छ ।

त्यस्तै पक्राउ परेका अर्का अभियुक्त संजय भोम्जन पनि अत्यन्तै नाजुक आर्थिक अवस्थाका व्यक्ति भएको बयानमा उल्लेख छ ।

सम्बन्धित खबर