सवारी ज्यानमारालाई २ हजार जरिवाना तिराएर छुट दिने अदालतको फैसला : प्रहरी र सरकारी वकिलको सेटिङको आशंका

diyopost.com
दियो पोस्ट  बुधबार, माघ २६, २०७८ | १७:५८:००

काठमाडौं । सवारी ज्यान सम्बन्धी एक मुद्दामा प्रहरी र सरकारी वकिल कार्यालयको मिलेमतोमा प्रतिवेदन तयारी पारि उन्मुक्ति दिएको खुलाशा भएको छ । प्रहरी प्रतिवेदन र सरकारी वकिलको कार्यालयको अभियोजनकै आधारमा सवारी दुर्घटना गराएर ज्यानै लिएका एक अभियुक्तलाई न्युनतम जेल सजाय समेत नतोकी २ हजार धरौटीमा रिहा गरि उन्मुक्ति दिएको घटनाको कागजात फेला परेको हो ।

घटना २०७६ चैत्र ५ गतेको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बासाबसहीमा भयानक सवारी दुर्घटना भएको थियो । नवलपरासीको भुताहस्थित अमर तन्दुरी रेष्टेरेन्टबाट निस्किएर खैरेनी तर्फ जाँदै गरेको लु १ च ९६२२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको लु ३५ प ३१२७ नम्बरको मोटर साइकललाई ठक्कर दियो । कारको ठक्करबाट मोटर साइकल चालक रत्न कुमार कामी गम्भिर घाइते बने । तिब्र गतिमा रहेको उक्त कार विपरित दिशा तर्फ करिब ११ फिट सेन्टर लाइनभन्दा पर पुग्यो र सडक किनारबाट उत्तर तर्फ रहेको कल्भर्टमा ठोकियो ।

दुर्घटनामा गम्भिर घाईते भएका रत्न कुमारलाई स्थानियहरुले परासीस्थित पृथ्वीचन्द्र अस्पताल पुर्याए । तर, उपचारकै क्रममा उनको निधन भयो । पोष्टमार्टम रिपोर्ट आयो जसको कज अफ डेथमा लेखिएको छ–आरटिए विथ राइट फेमर फ्र्याक्चर विथ म्यासिभ ह्यामरेज ।’
अर्थात दायाँ खुट्टा फ्रयाक्चर भई ठूलो रक्तश्रावका कारण उनको निधन भयो ।

सवारी चालक कृष्ण प्रसाद न्यौपाने त्यहाँबाट फरार भए । चैत्र ९ गते प्रहरीको सम्पर्कमा आएका न्यौपानेलाई तत्कालिन प्रहरी अधिकृत र सरकारी वकिलको मिलेमतोमा उन्मुक्ति दिइएको पाइएको हो । प्रहरी प्रतिवेदन र सरकारी वकिल कार्यालयको अभियोजनकै आधारमा जिल्ला अदालत नवलपरासीले सवारी ज्यानको यस्तो गम्भिर मुद्दामा समेत अभियुक्तलाई २ हजार जरिवानामा छाडेको खुलाशा भएको हो । जिल्ला अदालत नवलपरासीका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलाशले गत वैशाख ५ गते यस्तो फैसला गरेको पाइएको हो । फैसलाको जानकारी समेत पीडित पक्षलाई नदिएपछि पीडित पक्षले उक्त फैसलाको पुनरावलोकन समेत गर्न पाएनन् ।

दियोपोस्टले फेला पारेको मिसिल कागजातमा प्रहरी प्रतिवेदन, सरकारी वकिल कार्यालयको अभियोग पत्र र जिल्ला अदालतको फैसलामा गम्भिर त्रुटी समेत पाइएको छ । अभियोग पत्रमा केही अवैज्ञानिक विषय समेत उल्लेख भएको पाइएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटका तत्कालिन प्रहरी निरिक्षक हेम बहादुर केसी, प्रहरी नायब निरिक्षक भवानी प्रसाद धमला र प्रहरी हवल्दार चुडामणी भुषालको मिलेमतोमा प्रहरीले फर्जी प्रतिवेदन तयार पारेको पीडित पक्षको आरोप छ ।

अभियुक्तको थरीथरी बयान !

 

सवारी ज्यान मुद्दाका प्रमुख अभियुक्त न्यौपानेबारे प्रहरी प्रतिवेदन, सरकारी वकिलको प्रतिवेदन र जिल्ला अदालतमा दिएको बयान समेत एक आपसमा बाँझीएको छ । दुर्घटनापश्चात घाइते भई सडकमा ढलेका रत्न कुमार कामीको उद्दारका लागि आफू जानै लाग्दा स्थानिय मानिसहरुको भिडभाड देखेपछि आफूलाई असुरक्षित महशुस गर्दै त्यहाँबाट भागेको न्यौपानेले सरकारी वकिल समक्ष बयान दिएका छन् । जिल्ला अदालतमा दिएको बयानमा भने रत्न कामी सडकमा पल्टिएको अवस्थामा आफू गाडीबाट तल झरेको र सोही समयमा २–४ जना मानिसहरु आएर कार डाइभर तपाईं हो भन्दै सोधपुछ गरेपछि कुटपीट हुने डरले आफू त्यहाँबाट भागेको बताएका छन् । प्रहरी समक्ष दिएको बयानमा भने आफू कारमै रहँदा मृतक रत्न कामी ढलेको देखेको र उनलाई उद्दार गर्न सडकमा झरेपछि एकजना मानिस आएर चालक तपाईं हो भनेर सोधेपछि उक्त स्थानबाट आफू फरार भएको उनको जिकिर छ ।

त्यस्तै उनलाई पक्राउ गरिएको विषयमा समेत प्रहरी प्रतिवेदन र सरकारी वकिल कार्यालय समक्ष उनको बयान बाझीएको छ । प्रहरी समक्ष उनले दिएको बयानमा आफू प्रहरी कार्यालय आउनै लाग्दा २०७६ चैत्र १० गते दिउँसो ७ बजे नवलपरासीको बर्दाघाट नगरपालिका २ बाट आफूलाई प्रहरीले पक्राउ गरि ल्याएको बताएका छन् । २०७६ चैत्र १० गते नै प्रहरी नायब निरिक्षक भवानी प्रसाद धमलाले पेश गरेको प्रतिवेदनमा भने उनलाई पूर्व पश्चिम राजमार्गमा सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरि ल्याएको उल्लेख छ ।

यता जिल्ला अदालत नवलपरासीका न्यायाधीश समक्ष उनले दिएको बयानमा भने आफू २०७५ साल चैत्र ९ गते आफै ईलाका प्रहरी कार्यालय बर्दघाट गएको र २०७५ चैत्र १० गते आफूलाई प्रहरीले पक्राउ पूर्जी दिएको बताएका छन् । कर्मचारीको गल्ती हो या न्यौपानेको गल्ती हो बयानको कागजमा उनी १ वर्ष अघि नै प्रहरी कार्यालय पुगेको उल्लेख छ । चैत्र ९ गते नै उनी प्रहरी कार्यालय पुगेका थिए भने कसरी उनलाई प्रहरीले राजमार्गबाट पक्राउ गरेर ल्याएको प्रतिवेदन बनायो । यो नै शंकाष्पद छ ।

अदालतले गरेको फैसलामा उल्लेखित न्यौपानेको बयानमा त उनले चैत्र ९ गते अर्थात एक दिन अघि नै ईलाका प्रहरी कार्यालय बर्दाघाट गई ‘दुर्घटना भएको कारको चालक म हो, के कसो गर्नुपर्ने हो भनी सल्लाहा गरेँ र चैत्र १० गतेबाट आफू हिरासतमा बसेको हुँ’ भन्ने बयान दिएका छन् ।

 

के गाडी तिब्र गतिमा थियो ?

प्रहरी समक्ष उनले दिएको बयान अनुसार आफूले चलाएको कारको गियर ४ नम्बरबाट तीन नम्बरमा झारेको उल्लेख छ । तर, त्यतिबेला गाडीको स्पिड ३० देखि ३५ किलोमिटर प्रतिघण्टा रहेको उल्लेख छ । के ४ बाट तीन गियरमा झार्दा गाडीको स्पिड त्यति हुन संभव छ ?

सवारी चालक क्षेत्रका विज्ञका अनुसार सामान्यतया गाडीको सिसि बढी हुने भएकाले एक गियरमा १ देखि २० किलोमिटर प्रतिघण्टाको स्पिड हुन्छ । २ गियरमा २० देखि ४० को स्पिड हुने गर्छ । ३ गियरमा ४० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिड हुने गर्छ भने ४ गियरमा ६० देखि ८० किलोमिटर प्रतिघण्टाको स्पिड हुन्छ । तर, न्यौपानेले बयानमा ४ बाट तीनमा झार्दा नै ३५ को स्पिडमा भएको बताएका छन् । उनले बयानमा गियर झारेको मात्रै उल्लेख गरेका छन् । जबकी ब्रेक लगाएको भए रत्न बहादुर बाँच्न सक्थे । ब्रेक किन नलगाएको भनेर कुनै पनि सरकारी निकायले उनलाई सोधपुछ समेत गरेका छैनन् । त्यसो त सेन्टरलाइनबाट ११ फिट पर पुगेर कसरी रत्न कामीको मोटर साइकललाई ठक्कर पुग्यो भन्ने स्पष्ट जवाफ समेत उनले दिएका छैनन् ।

यसरी भयो २ हजार धरौटीमा रिहा !

सवारी तथा यातयात व्यवस्था ऐन, २०४९ को दफा १६१ मा सवारी दुर्घटनाको प्रकृति अनुसार सजाय निर्धारण गरिएको छ ।

उपदफा (१) मा भनिएको छ,‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै सोही चोटको परिमाण स्वरुप एक्काईस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ ।’

त्यस्तै (२) मा भनिएको छ,‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउ“मा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।’

उपदफा (३) मा भनिएको छ,‘कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’

सरकारी वकिल कार्यालय नवलपरासीले प्रतिवादी कृष्ण प्रसाद न्यौपानेलाई उपदफा ३ अनुसार कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोही उपदफा अनुसार न्यौपानेलाई अदालतले २ हजार धरौटीमा रिहा गरेको हो । जिल्ला अदालत नवलपरासीका न्यायाधीश चन्द्रकान्त पौड्यालको ईजलाशले २०७७ साल वैशाख ५ गते अभियुक्त न्यौपानेलाई २ हजार जरिवाना गर्ने फैसला सुनाएका थिए । पौड्यालले गरेको फैसलामा कतै कार त कतै ट्रकको ठक्करबाट रत्न कामीको मृत्यु भएको उल्लेख छ ।

गाडीको स्पिडमा सर्वोच्च अदालतको त्यो नजिर !

रत्न कामी मृत्यु प्रकरणसँग मिल्दोजुल्दो एक घटनामा सर्वोच्च अदालतले गाडीको स्पिडलाई समेत एउटा नजिर बनाएको छ ।

३५ को स्पिडलाई तिब्र गति र लापरबाही भन्दै सर्वोच्च अदालतले एक अभियुक्तलाई सवारी तथा यातयात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिम कसुर गरेको ठहर गरेको थियो । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश तर्कराज भट्ट र ताहिरअली अन्सारीको संयुक्त ईजलाशले २०६७ चैत्त २४ गते गरेको फैसलाले यस्तो नजिर स्थापना गरेको हो । २०६३ कार्तिक ७ गते लु १ च २३५६ नम्बरको जीपले लु १ प ३७४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि विरज श्रेष्ठको मृत्यु भएको घटनाका दोषी ईन्द्र प्रसाद खनालले चलाएको जीपको स्पिड पनि ३५ नै थियो । सोही गतिलाई सर्वोच्च अदालतले तिब्र गति र लापरबाही भन्दै सवारी तथा यातयात व्यवस्था ऐन को दफा १६१ को उपदफा २ बमोजिम २ वर्ष कैद सजाय फैसला सुनाएको थियो ।

अभियुक्तलाई सजाय सुनाएको जानकारी समेत पीडितले पाएनन्

रत्न बहादुर कामीको मृत्यु प्रकरणका जाहेरकर्ता हुन् दले कामी । मृतक रत्न कामी उनका बहिनी ज्वाइँ हुन् । उनैले प्रहरीमा २०७६ चैत्र ६ गते प्रहरीमा जाहेरी दिएका थिए । तर, जाहेरकर्ता दले कामीलाई जाहेरी परेपछिको कुनै प्रक्रियाबारे प्रहरी वा सरकारी वकिल र जिल्ला अदालतले समेत जानकारी दिएन । ‘हामीले जाहेरी दिएपछि के भयो भन्ने कुनै जानकारी दिएन । क्षतिपूर्ति लेउ भनेर प्रहरीले धम्की मात्रै दिरहन्थ्यो,’ दले कामीले दियोपोस्टसँग भने,‘अदालतबाट फैसला नै भएको समेत हामीले जानकारी पाएनौँ । मेरो मोबाइल नम्बर छ । यहीँ घर छ तर मलाई जानकारी आएन । मेरी बहिनीलाई पनि आएन ।’

दले कामी भन्छन्,‘केस गर्नु भयो भनी राम्रो हुँदैन भनेर धम्की दिन्थे’

अदालतले गरेको फैसला समेत जानकारी नपाएका कामीका अनुसार प्रहरीले पीडित परिवारलाई धम्की समेत दिएको थियो । ‘तपाईंहरुले प्रहरी विरुद्ध नै केस गर्नुपर्ने हुन्छ । त्यसो भयो भने राम्रो हुँदैन भनेर धम्की दिन्थे,’ उनले भने,‘अहिले जस्तो छ त्यस्तै बस्नुस् भनेर धम्की दिन्थे । यो विषयमा खोजी गर्नुभयो तपाईंहरुको राम्रो हुँदैन भनेर धम्काउँथे ।’

 

 

सम्बन्धित खबर