नवलपरासी । जातिय छुवाछूत तथा भेदभावबाट पीडित परिवारले दिएको जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)ले अस्विकार गरेको पाइएको छ । जातिय छुवाछुत तथा भेदभावबाट पीडित नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ५ मिनिबन कट्टी बस्ने ५१ वर्षिय मिना कुमारी क्षेत्री खड्काले दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्विकार गरेको हो ।
खड्काले आफ्नो छोराले दलितसँग विहे गरेकै कारण आफ्नै जेठाजु लगायतले आफू र छोरा बुहारीमाथि जातिय भेदभाव तथा छुवाछुत गरि कुटपीट गरेको जाहेरीमा उल्लेख छ ।
जाहेरवाली मिना कुमारी खड्काको छोरा पवन खड्काले अनिरा विश्वकर्मासँग अन्तर्जातिय प्रेम विवाह गरेकै कारण आफूहरुमाथि जातिय विभेद तथा छुवाछुत गरेको उनको आरोप छ ।
जाहेरवाला खड्काको सासु धनकुमारी खड्काको गत माघ २३ गते निधन भएको र सासु आमाको धर्म परम्परा अनुसार क्रिया गर्ने बेला गत माघ २३ गते नै जेठाजु नातापर्ने रेशम खड्का, जेठानी नाता पर्ने मनकुमारी खड्का तथा रमेश खड्का र रामु खड्काले बुहारी अनिरा विश्वकर्मा र छोरा पवन खड्कालाई समेत ‘कामी र दलित’ जस्ता शब्द प्रयोग गर्दै घरबाट निकालेको आरोप छ ।
बुहारी अनिरा विश्वकर्माले क्रिया बस्दा हाम्रो धर्मको हानी हुने भन्दै जातिय गाली गलौच समेत गरेको जाहेरीमा उल्लेख छ । आफूहरुलाई सामाजिक परम्परा अनुसार क्रिया समेत गर्नबाट बञ्चित गरेको पीडित पक्षको आरोप छ । आफूहरुमाथि कुटपीट तथा धाकधम्की समेत दिएको उजुरीमा उल्लेख छ ।
‘जाहेरी लिएर प्रहरीमा पुगेको थिएँ । प्रहरीले तपाईं खड्का क्षेत्रीमाथि कसरी विभेद भयो । तपाईंले जाहेरी दिन मिल्दैन भन्दै फर्काइयो,’ पीडित मिनाले दियोपोस्टसँग भनिन्,‘भोली फेरी बोलाएका छन् । जाहेरीमा नाम सच्याएर ल्याउनु भनिएको छ ।’
जाहेरी दर्ता नभएको विषयमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार यादवको मोबाइल नम्बरमा सम्पर्क गर्दा डिएसपी प्रेम बहादुर शाहीले फोन उठाए । उनका अनुसार एसपी यादव फोन छोडेर भैरहवा तिर गएका छन् । ‘उहाँको आज विदा पनि हो । उहाँ फोन छोडेर भैरहवा जानु भएको छ,’ उनले भने,‘सर भोली आउनुहुन्छ त्यसपछि सम्पर्क गर्नुहोला ।’
घटनाबारे जानकारी गराउँदा आफूले भोली एसपी कार्यालय आएपछि आफुले जाहेर गर्ने उनले प्रतिक्रिया दिए ।