काठमाडौं । हिमालयन एयरलाइन्सबाट नेपाल आउन खोजेका २ सय जनाभन्दा बढी यात्रु साउदी अरबमा विचल्ली परेको पाइएको छ ।
एयरलाइन्सको लापरबाहीका कारण नेपाल प्रस्थानको तयारीमा रहेका नेपाली यात्रुहरु विचल्ली भएका हुन् । मंगलबारदेखि नै नेपाल आउने टिकट काटेर बसेका उनीहरुलाई हिमालयन एयरलाइन्सले कुनै पनि जानकारी समेत नदिई साउदीको दमाम विमानस्थलमा बोलाएर अलपत्र पारेको पाइएको हो ।
‘मेरी आमाको मृत्यु भएपछि हिजो बुधबार नै नेपाल पुग्ने टिकट लिएको थिएँ । तर, विमानस्थल आएर बसेको २ दिनसम्म हामीलाई कुनै जानकारी समेत हिमालय एयरलाइन्सले दिएको छैन,’ एक यात्रुले दियोपोस्टसँग भने,‘हामी २ सय जनाभन्दा बढी विचल्ली भएका छौँ ।’
यता एयरलाइन्सले भन विशेष परिस्थितिका कारण काठमाडौं–दमाम–काठमाडौं र काठमाडौं –रियाद–काठमाडौंको उडान गर्न नसकेको सुचना केहीबेर अघि मात्रै प्रकाशन गरेको छ । टिकट काटेकाहरुको पूर्ण रिफन्ड हुने र निशुल्क रिसेड्युलको सुविधा समेत हुने एयरलाइन्सले जनाएको छ ।