गजुरीमा जनप्रतिनिधिको ‘दादागिरी’ : बजारबाट फोहोर उठाएर व्यक्तिको जग्गामा फोहोरको डंगुर !

diyopost.com
दियो पोस्ट  शनिबार, माघ २९, २०७८ | २३:२५:३८

 

धादिङ । धादिङको गजुरी गाउँपालिकाले गजुरी बजार आसपास फोहोर संकलन गर्छ । सोही फोहोर संकलन गर्नकै लागि गाउँपालिकाले लाखौँ बजेट समेत खर्च गर्छ । तर, संकलित फोहोर भने गैरकानुनी रुपमा एक व्यक्तिको जग्गामा फाल्ने गरेको पाइएको छ ।

गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र वडा नम्बर १ का वडाध्यक्ष राजकुमार पण्डितको ‘राजनीतिक दादागिरी’मा यसरी गैरकानुनी रुपमा व्यक्तिको जग्गामा फोहोर फालेका कारण एक परिवार निकै पीडित बन्नु परेको छ ।

 

@diyopost

WhatsApp Video 2022-02-11 at 4.00.05 PM

♬ original sound – Diyo Post

त्यति मात्रै होइन फोहोर व्यवस्थापनको नाममा गाउँपालिका उच्च अधिकारीले लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको समेत आरोप छ । फोहोरको दिर्घकालिन व्यवस्थापन गर्नुको सट्टा गाउँपालिकाले बजेट दुरुपयोग गर्नकै लागि गजुरी गाउँपालिका स्थित वडा नं. १ स्थित नेपाली सेनाको ब्यारेक छेउमा रहेको गंगाधर खरेलको जग्गामा बिना अनुमति फोहोर फालेको पाइएको हो ।

 

व्यक्तिको जग्गामा मनोमानी हिसाबले किन फोहोर पालिएको भन्दै पीडित पक्षले प्रश्न गर्दा वडाध्यक्ष पण्डित र गाउँपालिका अध्यक्षले आलटाल गर्दै आएको उनीहरुको आरोप छ । खरेल परिवारका एक सदस्यका अनुसार हालसम्म गाउँपालिकाले उनीहरुको जग्गामा फोहोर फाल्न कुनै पनि अनुमति लिएको छैन ।

 


वडाध्यक्ष पण्डितको ज्यादतीको विरुद्धमा गत गत विहिबार जग्गा धनी खरेलका छोरा किशोर खरेल गाउँपालिका कार्यलय पुगेका थिए । उनले दिएको निवेदनमा समेत कुनै सुनुवाई नभएको खरेलको आरोप छ । उनले शान्तिपूर्ण विरोधको नााममा गाउँपालिकाको गेटमै फोहोरको पोका लगेर फालेका थिए ।

फोहोर फालेको भन्दै खरेललाई प्रहरी लगाएर थुन्ने कोशिस समेत भएको स्थानियको भनाई छ । स्थानीय समाजसेवी तथा नेता तारा भण्डारीले गाउँको कुरा गाउँपालिकामै बसेर छलफल गरेर मिलाउनु पर्छ भन्दै खरेललाई पक्राउ गर्न नमिल्ने अडान लिएका कारण उनलाई केहीबेर छलफल गराएर छाडिएको थियो ।

गाउँपालिका अध्यक्ष बस्नेत र वडाध्यक्ष पण्डितले जग्गा धनीसँग कुनै पनि सम्झौता नगरि फोहोर फाल्ने अडान लिएका छन् । उनीहरुले उल्टै पीडितलाई पालिका भित्र व्यावसाय गरेको छस् कुनै दिन चाहिन सक्छ भन्दै धम्की दिन थालेका छन् । जनताको सेवक हुनुपर्ने स्थानिय सरकार ‘साँढे जस्तो भएर’ जनतालाई नै ज्यादती गर्न थालेको आरोप लाग्दै आएको छ । गजुरी गाउँपालिका पनि त्यस्तो आरोपबाट अछूतो रहन सकेको छैन ।

यता वडाध्यक्ष राजकुमार पण्डितलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले दियोपोस्ट कर्मीलाई वडाकार्यालयमै आएर बुझ्न भन्दै शुरुमा प्रतिक्रिया दिन आनाकानी गरे । तर, सबै प्रमाण र भिडियोहरु उपलब्ध भएको बताएपछि उनले उक्त जग्गा गंगाधरकै भएको स्विकार गरे । गंगाधरकै अर्का एक भाईसँग गाउँपालिकाले सम्झौता गरेरै आफूहरुले फोहोर फालेको उनको दाबी थियो ।

यद्धपी आफूहरु क्षतिपूर्ति दिन तयार रहेको र छिटै सम्बोधन गर्ने उनको दाबी छ । फोहोर यसरी जथाभावी फाल्दा वातावरणिय प्रभाव पर्दैन ? भन्ने दियोपोस्टको प्रश्नमा उनले,‘वातावरणिय प्रभाव मुल्यांकन बिना नै फोहोर फालेको’ स्विकार गरे । वातावरणअनुकुल हुनेगरि फोहोर व्यवस्थापन गर्न नसकेको समेत उनको स्विकारोक्ति थियो ।

 

सम्बन्धित खबर