आयल निगमको कार्यकारी निर्देशक बन्न उमेश थानी ‘अयोग्य’, यस्तो छ शैक्षिक प्रमाण पत्र

diyopost.com
दियो पोस्ट  बिहिबार, फाल्गुण ०५, २०७८ | २१:३५:३५

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रधानमन्त्री शेरबहादुर देउवा निकट उमेश प्रसाद थानीलाई नियुक्त गर्न दबाव छ । तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयल तोकेको निर्देशिका अनुसार थानी अयोग्य रहेको कागजात फेला परेको छ । थानीलाई नियुक्त गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती र मनोनयन सम्बन्धी निर्देशिका, २०७७’ लाई सुटुक्क संशोधन गरेर ‘२०७८’ जारी गरिएको थियो ।

 


मन्त्रालयले गत पुस २५ गते आह्वान गरेको खुला प्रतिष्पर्धाको सुचनामा सोही निर्देशिकाको दफा ३ ख अनुसार योग्यता पुगेका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती र मनोनयन सम्बन्धी निर्देशिका, २०७७ को दफा ३ खमा ‘कार्यकारी प्रमुखको लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्व विद्यालयबाट कम्तिमा स्नातकोत्तर उत्तिर्ण गरेको र कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा ५ वर्षको कार्यअनुभव हासिल गरेको’ भन्ने उल्लेख गरिएको छ । हालै जारि गरिएको यो निर्देशिकामा थानीकै नियुक्तीका लागि इन्जिनियरिङ शब्द घुसाइएको थियो । तर, यही व्यवस्थामा भनिएको ५ वर्षे कार्याअनुभव भने थानीसँग नरहेको पाइएको हो । उनले आवेदनका क्रममा दिएको शैक्षिक प्रमाण पत्र र अनुभव पत्रले नै उनी अयोग्य रहेको पुष्टि गर्दछ ।

थानीलाई नियुक्त गर्न प्रधानमन्त्रीकै सचिवालयको चर्को दबाव रहेपनि उनको शैक्षिक प्रमाण पत्र र अनुभव पत्रले उनी अयोग्य देखिएका हुन् ।

कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये सिरहाका सञ्जय कुमारले सिलबन्दी प्रस्ताव पेस नगरेकाले उनको आवेदन अस्वीकृत भएको थियो  । बाँकी रहेका १६ जनाको दरखास्तमाथि छनोट समितिले अध्ययन गर्ने र सर्ट लिस्टको प्रक्रिया थाल्ने तयारी गरिरहेको छ । यही तयारीकै बीचमा थानीको नाम सिफारिस गर्न उच्च दबाव छ ।

‘माथिबाट दबाव भएपनि थानीका सन्दर्भमा निर्देशिकाले व्यवस्था गरेअनुसार कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा ५ वर्षको कार्य अनुभव नभएकाले नाम सिफारिस गर्न सकिने संभावना त छैन । तर, थानीले प्रधानमन्त्री कार्यालयलाई खुसी बनाएका कारण उनको संभावना बलियो छ,’ स्रोतले भन्यो ।

यस्तो छ थानीको योग्यता प्रमाण पत्र

दियोपोस्टले फेला पारेको उनको अनुभव प्रमाण पत्र अनुसार मन्त्रालयले नै जारी गरेको पदपुर्ति सम्बन्धी निर्देशिका अनुसार पुग्दैन । उनले पेश गरेको कागजात अनुसार उनले २०५१ सालमा एसएलसी उत्तिर्ण गरेको देखिन्छ । थानीले पेस गरेको कार्य अनुभवअनुसार उनले २०६१ कात्तिकदेखि २०६२ असारसम्म जिल्ला शिक्षा कार्यालय हुम्लामा इन्जिनियर भएर करारमा काम गरेको देखिन्छ ।

 

२०६५ वैशाख ९ मा सेभ द चिल्ड्रेनमा एक वर्ष इन्जिनियर, २०६७ वैशाख २९ देखि २०६८ असोज ३० सम्म ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरडीपी) का लागि स्वीकृत इन्जिनियर भएर काम गरेको विवरण पनि थानीले पेस गरेको देखिन्छ ।

 

२०७० जेठ १३ मा नेपाल इन्जिनियरिङ परिषद्को सदस्य सचिवको हैसियतमा ४ वर्षका लागि रजिस्ट्रार र २०७३ मा भदौमा नेपाल इन्जिनियर्स एसोसिएसनको महासचिवसमेत भएको उनले उल्लेख गरेका छन्  । २०७३ मंसिर ३० मा चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्ति पाएका थानीले २०७६ कात्तिक ३ मा राजीनामा दिएका थिए । उनले कामको व्यवस्थता भएका कारण राजिनामा दिएको उल्लेख गरेका छन् । २०७६ जेठ १३ मा एभरेस्ट इन्जिनियरिङ कलेजको प्राचार्य भएर दुई वर्ष काम गरेका थानी अहिले सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालमा अध्यक्ष छन् । यो कांग्रेस निकट संस्था हो । यही योग्यतालाई मन्त्रालयले जारी गरेको निर्देशिकाको उल्लेखित दफाले स्विकार गर्न नसक्ने स्रोतको भनाई छ ।

‘कुनै पनि निकायको व्यवस्थापकीय जिम्मेवारीमा ५ वर्ष नेतृत्वमा बसेको हुनुपर्ने यो निर्देशिकाको उद्देश्य हो,’ स्रोतले भन्यो,‘तर उहाँ त कतै पनि ५ वर्षसम्म व्यवस्थापकिय जिम्मवारीमा हुनुहुन्न । उहाँ यो अनुभवपत्रका आधारमा योग्य भन्न मिल्ने देखिँदैन ।’

थानीले पेश गरेको कार्याअनुभवमा इन्जिनियर परिषदको सदस्य सचिव भएर काम गरिसकेको उललेख छ । तर, यो अनुभव आफैमा कार्यकारी भएर बसेको अनुभव होइन । यहाँ पनि उनी जम्मा ४ वर्ष मात्रै बसेका छन् । जबकी निर्देशिकाले ५ वर्ष भनेरै किटान गरेको छ ।

 

सम्बन्धित खबर