मिटरब्याजीको उजुरीपछि मदिरा कारोबारी अमित अग्रवाल पक्राउ !

diyopost.com
दियो पोस्ट  सोमबार, फाल्गुण ०९, २०७८ | १५:५९:२०

काठमाडौं । महानगरिय प्रहरी परिसरले चेक बाउन्सको आरोपमा ग्रिनलाइन सेन्टर प्रा.लीका मालिक अमित अग्रवाललाई पक्राउ गरेको छ । पक्राउ परेका उनी विरुद्ध मिटर ब्याजको कारोबार गर्दै आएका संजय अधिकारी र असिम राणाले जाहेरी दिएका थिए ।

 

राजधानीको दरबारमार्गमा विगत २२ वर्षदेखि ग्रिनलाइन सेन्टरको नाममा विभिन्न देशका महंगा मदिराहरूको व्यापार गर्दै आएका अग्रवाल गत पुस २२ गतेदेखि परिवारसहित सम्पर्कविहीन भएका थिए । अग्रवाल केही दिनअगाडि सार्वजनिक भएका थिए ।

 

अग्रवाललाई पक्राउपछि टेकु प्रहरीको हिरासतमा राखिएको छ । गत वर्ष सेनाको ठेक्काको रकम भुक्तानीमा कीर्ते गरेको आरोपमा पक्राउ परेका सञ्जय अधिकारी विवादित व्यक्ति हुन् । अधिकारीलाई अग्रवालले दिएको ५० लाखको चेक बाउन्स भएको जनाइएको छ । यता राणाको पनि डेढ करोडभन्दा बढी रकमको चेक बाउन्स भएको छ ।

अग्रवालले मिटरब्याजमा लिएको करिब ८० लाखभन्दा बढी रुपैयाँ अधिकारी, राणालगायतलाई तिर्न बाँकी छ । योबाहेक अग्रवाललाई मिटरब्याजमा पूर्वप्रहरी अधिकृत दिपक रञ्जित, सुनिल श्रेष्ठलगायतले २५ करोड दिएका थिए ।

अग्रवालले मिटरब्याजमा लिएको २५ करोडमा अहिलेको सरकारी बहालवाला उच्च प्रहरी अधिकारीहरूको समेत पैसा लगानी भएका कारण उनलाई पक्राउ गर्न दबाब पर्दै आएको स्रोतको दाबी छ । उनलाई महानगरीय प्रहरी आयुक्तको कार्यालयको दबावमा पक्राउ गरिएको समेत स्रोतको दाबी छ ।

अधिकारी र राणाको उजुरीमा अग्रवाल पक्राउ परेपछि सुनिल श्रेष्ठ, दिपक रञ्जितलगायतका व्यक्तिहरू पनि मौका छोपेर अग्रवालको सम्पत्ति कब्जा गर्न दौडिरहेका छन्न् । कुनै समय अग्रवालका नजिकका साथीहरूमध्ये यिनीहरू नै थिए । उनीसँग भौतिक सम्पत्ति प्रशस्त रहेको कारण त्यही सम्पत्ति कब्जा गर्न उनीहरूले मौकाको फाइदा उठाउन लागेको स्रोतको दाबी छ ।

 

ठूलो मात्रामा मिटरब्याज र बैंकको पैसा लिएर सपरिवार सम्पर्कविहीन भएपछि बैंकहरूले गरेको लगानीको विषयमा राष्ट्र बैंकले समेत फाइल मगाएर अध्ययन गरेको थियो । नेपालबाट अर्बौँ रुपैयाँ पैसा उठाएर अग्रवाल सपरिवार भागेको समाचारहरू आएपछि अग्रवाल परिवार सम्पर्कमा आएको थियो ।

 

बैंकको ब्याज र अरु व्यक्तिहरूलाई ब्याज तिर्न समस्या भएको मिटरब्याजीहरूले विभिन्न फन्दामा पारी आफ्नो सम्पत्ति सिध्याउन खोजेको लगायतका आरोपपत्र घरमा छोडेर भागेको अग्रवाल परिवारले भारत पुगेलगत्तै कोभिड भएर सम्पर्कमा आउन नसकेको बताएको थियो । प्रहरी हिरासतमा रहेका अग्रवाल समेत पछिल्लो समय हुण्डी कारोबारमा लागेको आरोप छ ।

सम्बन्धित खबर