आधा दर्जन बैंक लुटपाट मुद्दामा कैद पाएका लिला लामालाई प्रेम आलेले बनाए पर्यटन बोर्ड सदस्य !

दियो पोस्ट  

काठमाडौं । पर्यटन मन्त्री प्रेम आलेले पर्यटन बोर्डको संचालक समिति सदस्यमा नियुक्त गरेको लिला लामा विभिन्न आपराधीक घटनामा जेल सजाय भुक्तान गरेर आएको व्यक्ति रहेको खुलाशा भएको छ ।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको सिफारिसको आधारमा बोर्डमा नियुक्त भएका लामाको नाम समेत दुई वटा रहेको पाइएको छ । सार्वजनिक रुपमा लिला भनिएपनि उनको वास्तविक नाम टासी लामा हो ।

हाल विभिन्न व्यावसायीक घरानाको मालिक रहेको भनिएपनि उनले विगतमा विभिन्न लुटपाट घटनामा जेल सजाय समेत भोगेर आएको पाइएको छ । उनले स्याकार कम्पनी, एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स तथा गुडविल फाइनान्स लगायत आधा दर्जनभन्दा बढी वित्तिय संस्थामा लुटपाट गरेका थिए । २०६६ साउन ३० गते प्रकाशित कान्तिपुर दैनिकको साप्ताहिक पत्रिकामा लामाले त्यतिबेला लुटपाट गरेरै एक करोडभन्दा बढी रकम कमाएको उल्लेख छ । लुटपाट घटनामा तत्कालिन जिल्ला अदालत काठमाडौंको फैसला अनुसार २०६२ सालदेखि उनी जेलमा थिए ।

तर, जेलभित्रैबाट ब्राउन सुगरको धन्दामा उनी समलग्न रहेको अर्को तथ्य समेत भेटियो । जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपुर्ण कफिसपबाट लागु औषध ब्राउनसुगर, २० लाख रुपैयाँ नगद र तीन वटा मोबाइल सहित पक्राउ परेका थिए । तत्कालिन काठमाडौं प्रहरी प्रमुख एसपी पुष्कर कार्की (एआइजीबाट रिटायर्ड)ले त्यतिबेला मिडियामा दिएको सुचना अनुसार लामाको साथबाट १५ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

जेलभित्र हुनुपर्ने कैदी लामाको साथबाट १५ लाख रुपैयाँ पर्ने गरगहना र इलेक्ट्रिक टेलिफोन डायरी समेत बरामद भएको थियो । जेल प्रशासनकै स्विकृतिमा सुरक्षागार्ड सहित निस्केको उनको साथमा कसरी लागु औषध, नगद, गरगहना र मोबाइलसहित भेटियो भन्ने विषयमा प्रहरी नै चकित भएको थियो । तत्कालिन एमाले निकट अनेरास्ववियुका कोषाध्यक्ष दीपक गौतमलाई उक्त रकम दिन लागेको अनुसन्धानमा खुलेको थियो । प्रहरीले त्यतिबेला गौतमलाई समेत पक्राउ गरेको थियो ।

गौतम र लामाबीच २०५८ सालदेखि नै दोस्ती थियो । प्रहरीले त्यतिबेला कान्तिपुर र सिप्रदी फाइनान्स लुटपाट घटनामा लामा र दीपक दुवैलाई खोजी गरेको थियो ।
विभिन्न लुटपाट घटनामा समलग्न रहेका टासीलाई त्यतिबेला बैंक अफ काठमान्डुको बौद्ध शाखा लुटेपछि २०६२ मा प्रहरीले पक्राउ गरेर मुद्दा लगाएको थियो । जिल्ला अदालत काठमाडौंले त्यतिबेला सुनाएको सजायको आधारमा उनी केन्द्रीय कारागारमा सजाय समेत कटिरहेका थिए । जेलबाटै त्यतिबेला व्यापारीलाई धम्काउने गरेको गुनासो समेत प्रहरीमा थियो । उनलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद सजाय फैसला गरेको थियो । तर, २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसकै दिन पारेर उनलाई आममाफी दिएर जेलबाट छुटाइएको थियो ।

 

कसरी नियुक्ती हत्याए ?

नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका प्रेम आलेमाथि एमालेकै केन्द्रीय सदस्य तथा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको डिजाइनमा चल्ने गरेको आरोप छ । रिजालकै सिफारिसका आधारमा उनले एमाले निकट व्यक्तिहरुलाई राजनीतिक नियुक्तीमा अग्रस्थान दिँदै आएका छन् ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवन समेत सहभागी भएका लिला लामा एमालेकै पर्यटन विभाग सदस्य हुन् । पर्यटन क्षेत्रमा कुनै योगदान नभएपनि उनी उपाध्यक्ष रिजालको सहयोगी हुन् । रिजाललाई एमाले केन्द्रीय सदस्यमा जिताउँ भन्दै लामाले सामाजिक सञ्जालबाट भोट नै मागेका थिए । त्यति मात्रै होइन उनले रिजाललाई आर्थिक लगानी समेत गरेर बोर्ड सदस्य पद हत्याएको उच्च स्रोतको दाबी छ । सामाजिक सञ्जालमै कतिपयले लामा र रिजालबीच लेनदेन भएको आरोप लगाएका छन् ।