नक्कली जग्गा धनीपुर्जा दिएर ३३ लाख रुपैयाँ ठगी : प्रहरीको फन्दामा परे अभियुक्त !

diyopost.com
दियो पोस्ट  बुधबार, फाल्गुण ११, २०७८ | २०:२२:००

काठमाडौं । नक्कली धनीपुर्जा दिएर एक महिलालाई ३३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा महानगरीय अपराध महासाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ घर भएका हितबहादुर बुढाथोकी रहेका छन् । उनले रामेछापको भलुवाबजोर घर भएकी कृष्णमाया घिसिङलाई काठमाडौंको साँखु स्थित साल्खा –६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी क्षेत्रफल मध्ये ८ आना जग्गा दिन्छु भन्दै ३५ लाख रुपैयाँमा विक्री गर्ने बैना कागज गरेका थिए ।

उनले घिसिङबाट पटक पटक गरी ३३ लाख रुपैयाँ लिएपछि उक्त जग्गा कसको नाममा छ भन्दै पीडित महिला मालपोत कार्यालयमा गई बुझेकी थिइन् । तर मालपोत कार्यालयमा बुझ्दा उक्त जग्गा अन्य व्यक्तिको नाममा रहेको थाहा पाएपछि आफु ठगिएको चाल पाएकी थिइन् ।

प्रहरीले उनलाई कपनबाट उनलाई पक्राउ गरेर थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाएको छ ।

 

सम्बन्धित खबर