नेपाल आजका संचालक विरुद्ध महिला हिंसाको उजुरी, प्रेस काउन्सिलद्वारा प्रहरीलाई पत्राचार !

diyopost.com
दियो पोस्ट  बिहिबार, फाल्गुण १२, २०७८ | १:०४:५१

 

काठमाडौं । नेपालआज डटकम नामक अनलाइनका अध्यक्ष माधव गुरागाइँमाथि कार्यालयमै काम गरेका एक महिलाले महिला हिंसा गरेको उजुरी दिएकी छिन् । प्रेस काउन्सिल नेपालमा ती महिलाले म्यासेजको स्क्रिनसर्ट सहित उजुरी दिएपछि काउन्सिलले नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंमा केही दिनअघि एक महिलाले प्रमाणसहित गुरागाईंले मानसिक यातना तथा हिंसा गरेको उजुरी दर्ता गराएकी थिइन् । लगत्तै साइबर ब्युरोले गुरागाईलाई सम्पर्कमा आउन भनेको थियो । तर, गुरागाइँ आफूलाई कुनै पनि निकायले केही जानकारी नगराएको बताउँछन् । प्रेस काउन्सिल नेपालले प्रहरीमा गरेको पत्राचारबारे प्रश्न गर्दा उनले अनभिज्ञता प्रकट गरे । ‘मलाई त थाहा छैन त । प्रहरीले पनि खासै केही भनेको छैन,’ उनले दियोपोस्टसँग भने ।
गुरागाईंले अहिले सामाजिक सञ्जाल प्रयोग गरेर आफूलाई धम्की दिइरहेको ती महिलाको आरोप छ ।

 

प्रेस काउन्सिल नेपालले नेपाल आजले नागरिकलाई लाञ्छना लगाउने, समाजमा अपाच्य अमर्यादित सामग्री सम्प्रेषण गर्ने गरेको निष्कर्षसहित अधिकतम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेको छ । ०७८ फागुन ५ गते काउन्सिलले पत्र संख्या ०७८/७९ चलानी नं. ५०१ बाट प्रहरीलाई पठाएको पत्रमा प्रचलित कानूनबमोजिम कारबाही अघि बढाउन भनिएको छ ।

साथै पत्रकारका रुपमा उनीहरुले गर्ने गतिविधि प्रेस काउन्सिलको कार्यक्षेत्रभन्दा बाहिर रहेको र यसले स्वतन्त्र सञ्चारमाध्यमको समेत बदनाम गराएको उल्लेख गर्दै हदै सम्मको कारबाही गर्न सिफारिस गरिएको छ ।

 

सम्बन्धित खबर