सप्तकोसी बैंक घोटालामा : जब सिइओ सुवेदीले दिदिलाई थाहा नदिई खाता खोलेर १४ करोड झ्वाम पारे

diyopost.com
दियो पोस्ट  बिहिबार, फाल्गुण १२, २०७८ | २:१६:१४

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय मोरङले सप्कोसी विकास बैंकमा भएको घोटालाका अभियुक्तलाई कैद सजाय माग गर्दै उच्च अदालतको वाणिज्य इजलाशमा अभियोग पत्र दायर गरेको छ ।

 

मंगलबार तत्कालीन सिइओ नवीन सुवेदीसहितका १२ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।

पछिल्लो ६ वर्षको अवधिमा बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ अपचलन गरेको आरोपमा तत्कालीन सिइओ सुवेदीसहितका नौ जना कर्मचारी र तीन जना खातावालविरूद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।

 

अभियोग पत्रमा अपचलन भएको १५ करोड ७५ लाख र ५७५ रुपैयाँ बैंकलाई भराउनुपर्ने, सोही बराबरको रकम जरिवाना र ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय माग गरिएको छ।

सरकारी वकिलको कार्यालयले सुवेदीसहित बैंकका जनरल सर्भिस डिपार्टमेन्ट जिएसडी प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होमप्रसाद पौडेल, फरार रहेका बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकका कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईलाई विपक्षी बनाएको छ।
बैंकको रकम अपचलन गर्नेमध्ये तत्कालीन सिइओ सुवेदीले दिदी नाता पर्ने झापाकी बबिता बस्नेतको खाताबाट फरक(फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७३५ रुपैयाँ झिकेको देखिएको थियो। प्रहरी समक्ष ती महिलाले आफूलाई उक्त बैंकमा खाता छ भन्ने समेत थाहा नभएको बयान दिएकी छिन् ।

झापाको दमक नगरपालिका वडा नम्बर ९ घर भएकी सुवेदी नजिकै पसल संचालन गरि बस्थिन् । ‘मेरो सप्तकोसी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालय बिराटनगरमा खाता छैन । मैले उक्त बैंकको शेयर समेत भरेको छैन । बैंकका कर्मचारी हाल पक्राउ परेका हिमाल भट्टराई मेरो आफ्नो फुपुको छोरो र नविन सुवेदी काकाको छोरा हुन्,’ बबिताले बयानमा भनेकी छिन्,‘मलाई जाहेरीसाथत संकलन हुन आएको मेरो नामको खाता खोली मेरो सही निज प्रतिवादीले तेक बनाई मेरो खातामा रकम जम्मा गराई १४ करोड ५ लाख ३१ हजार ३ सय ६५ रुपैयाँ उक्त रकम के कसरी झिके मलाई थाहा छैन ।’

बैंकको खातामा रहेको हस्ताक्षर समेत आफ्नो नभएको उनले बयान दिएकी छिन् । तर, फोटो र नागरिकताको फोटोकपी भने आफ्नै भएको उनको भनाई छ । आफ्नै नागरिकताको फोटोकपी र फोटो कसरी प्रयोग भयो आफूलाई नै थाहा नभएको उनको बयान छ ।

 

उनको फुपुको छोरा भनिने हिमाल भट्टराईले प्रहरी समक्ष दिएको बयानमा आफूले आफ्नै माइलो मामाको छोरा तथा सिइओ नविन सुवेदीकै योजना र निर्देशनमा सबै काम गरेको बताएका छन् । आफूले बदमासी गरेबापत एकै पटक ७० लाख रुपैयाँ सम्म पाएको उनको बयान छ ।

सम्बन्धित खबर