शौच गर्न नपाएपछि एकाविहानै काठमाडौंको सिडिओ कार्यालयमा लफडा !

diyopost.com
दियो पोस्ट  सोमबार, फाल्गुण १६, २०७८ | १६:५४:५५

काठमाडौं । कोरोना संक्रमण रोक्न भन्दै प्रमुख जिल्ला अधिकारीले भिडभाड नगर्ने आदेश जारी गर्छन् । सिडिओकै आदेशका आधारमा काठमाडौंमा साँझ परेपछि होटल रेष्टुरेन्ट खुलेको देख्ने वित्तिकै प्रहरीले तारो बनाइ हाल्छन् । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भने विहान २ बजेदेखि सर्वसाधरण नागरिकको भिड लाग्छ ।

मानिस भिडभाड जम्मा हुँदा रोक लगाउने जिल्ला प्रशासन कार्यालयकै अगाडी यत्रो भिड हुँदा समेत प्रशासनले उचित व्यवस्थापन गर्न सकेको छैन । राष्ट्रिय परिचय पत्र बनाउनका लागि उनीहरु एका विहानैदेखि लाइनमा बस्न आउन थालेका हुन् ।

सोमबार विहान भने जिल्ला प्रशासन कार्यालयमा लफडा समेत भएको छ । बबरमहलस्थित जिल्ला अदालतसँगै रहेको जिल्ला प्रशासन कार्यालयको बाहिर लाइनमा बसेका सर्वसाधरणले शौच गर्न नपाएको भन्दै हंगामा गरेका हुन् ।

शौचालय चाहियो भन्दै गेटमा पुगेका एक सर्वसाधरणलाई प्रहरीले हप्कीदप्की गर्दै हातपात गर्न खोजेपछि लाइनमा बसेका सबै जना प्रहरी विरुद्ध जाइ लागेका हुन् । ‘प्रहरीले हामीलाई हप्कीदप्की गर्दै दिशाव पिसाव गर्न जान दिएन । कित बाहिर सार्वजनिक शौचालय व्यवस्थापन गरिदिनु पर्यो । कित सिडिओ कार्यालय भित्रको शौचालय प्रयोग गर्न दिनुपर्यो,’ एक सर्वसाधरणले दियोपोस्टसँग भने,‘निकै लामो समय लफडा भएपछि हामीले दिशाव पिसाव गर्न पायौँ ।’
उनका अनुसार विहानै आउँदा अधिकांशले शौच नगरी आउने भएपनि वरपर कतै शौचालय समेत नखुल्दा समस्या भएको हो ।

राष्ट्रिय परिचय पत्रको टोकन लिनका लागि सर्वसाधरण नागरिक विहान २ बजेदेखि नै सिडिओ कार्यालयको ढोका बाहिर लाइन लाग्छन् ।

सम्बन्धित खबर