काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले विद्यार्थी संगठन विघटन नभएको भन्दै सबै विश्वविद्यालयसहित आंगिक क्याम्पसलाई पत्र पठाएका छन् । अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह नेतृत्वको कमिटी आधिकारिक भएको भन्दै महासचिव गुरुङले पत्र पठाएका हुन् ।
आगामी स्ववियु चुनावमा विद्यार्थी संगठन विघटन भएको भन्दै असर पर्न सक्ने भएकाले पत्र लेखेर गुरुङले स्पष्ट पारेका हुन् । पार्टीको लेटर प्याड प्रयोग गरी गुरुङले हस्ताक्षर गरेर विश्वविद्यालयलाई पत्र पठाएका छन् । गुरुङ त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, कृषि वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयलाई पत्र पठाएका हुन् ।
अखिल क्रान्तिकारीमा पन्चा सिंह नेतृत्वको कमिटीविरुद्ध पवन कार्कीले देशैभर समान्तर कमिटी बनाएका थिए । पार्टी स्थायी समिति बैठकले पन्चा सिंह नेतृत्वको कमिटी विघटन गरेर आयोजक कमिटी बनाएको भन्दै सञ्चार भएको थियो ।