रामचन्द्रलाई केही दिँदैन भन्थे, हामीले राष्ट्रपति बनाउँदै छौंः देउवा

दियो पोस्ट  

काठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँट र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चौडा छाती बनाएकाले चुनावअघिको गठबन्धन ब्युँतिन सम्भव भएको बताएका छन्।

बिहीबार राष्ट्रपति चुनावका लागि संघीय सांसदहरूलाई ८ दलले दिएको प्रशिक्षणमा बोल्दै देउवाले प्रधानमन्त्री प्रचण्ड र नेपालको प्रशंसा गरेका हुन्।

रामचन्द्र पौडेल राष्ट्रपति हुन उपर्युक्त पात्र भएको देउवाले बताएको प्रशिक्षणमा सहभागी जसपा सांसद राजकिशोर यादवले जानकारी दिए।
‘रामचन्द्रलाई केही दिएन, केही दिएन भन्ने गुनासो सुनिन्थ्यो,’ देउवाले भने,‘अब उहाँलाई हामीले राष्ट्रपति बनाउँदै छौं।’

प्रशिक्षणमा बोल्दै देउवाले पौडेल आफ्ना पुराना साथी भए पनि केही दिएन भन्ने गुनासो सुनिने गरेको बताए।

‘चुनावका बेला म रामचन्द्रजीको निर्वाचन क्षेत्रमा गएर उहाँ प्रधानमन्त्री हुने नेता हो भनेको थिएँ। उहाँ राष्ट्रपति हुनु हुने भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँले संविधानको रक्षा गर्न सक्नुहुन्छ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पनि बताए।

सिफारिस