बालुवाटारमा माओवादी धारका पार्टीको बैठक: के विषयमा भयो कुराकानी?

शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका पार्टीहरूको बैठक सकिएको छ।

एक घन्टाभन्दा बढी चलेको बैठकमा माओवादी सशस्त्र द्वन्द्वका बेलाका मुद्दाहरूलाई अदालतबाट उठाउन थालिएको विषयमा छलफल भएको छ।

‘जनयुद्धका क्रममा घटेका घटनाहरूलाई विस्तृत शान्ति सम्झौताविपरीत अदालतबाट उठाउन थालिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी सबै घटकहरू यसविरूद्ध एक भएर संघर्ष गर्ने विषयमा छलफल भयो,’ बैठकमा सहभागी एक नेताले भने,‘नेताहरूले हाम्रा बीचमा अरू धेरै विषय निर्मम समीक्षा गर्न बाँकी छ तर यो विषयमा हामी एक भएर जानुपर्छ भन्नुभयो।’

यस विषयमा उनीहरूले संयुक्त विज्ञप्ति पनि जारी गरेका छन्।

बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव, नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुती, नेताहरू कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी थिए।।

बैठकमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरूङ, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत पनि सहभागी छन्।

उनीहरूले माओवादी धारका पार्टीहरू सकेसम्म एकता, नभए मोर्चाबन्दी गरिनुपर्ने बताइरहेका छन्।