प्रधानमन्त्रीको घोषणाः सातै प्रदेशमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचारको व्यवस्था हुनेछ

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने घोषणा गरेका छन् । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् ।

‘सातवटै प्रदेशमा निस्सन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निस्शुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

प्रधानमन्त्री दाहालले प्रजनन् उमेर समूहका महिलाहरुमा देखिएको समस्या सम्बोधन गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिने बताए ।