रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।

बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।

पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको मतगणनामा रहेका नेकपा एमालेका सांसद महेश बर्तौलाले बताए।

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ मतभार आएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए।