पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा, १३ जना अझै फरार

दियो पोस्ट  

काठमाडौं । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई चाहिँ ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

अदालतको आदेशपछि सोमबार पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रकरणमा संलग्न १३ जना भने अझै फरार छन् ।

फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौं सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह छन् ।

अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।

पृथ्वीबहादुर शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेका सीआईबीको अनुसन्धानले देखाएको छ । उनीहरुले कम्पनीको उद्देश्य विपरीत आधिकारिक निकायबाट विदेशी लगानी भित्राउने अनुमति नलिएको तर विदेशबाट रकम ल्याइरहेको पाइएको थियो ।

सिफारिस