काठमाडों । उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेबाट मतदान सुरू भएको हो।
दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले भोट हाल्नेछन्।
पहिलो मतदान सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले गरेका छन्। अन्य उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउँदैनन्।
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।