कुन–कुन दलले दिदै छन् प्रधानमन्त्रीलाई विश्वासको मत ?

दियो पोस्ट  

काठमाडौं । गत पुस १० मा सात दलीय गठबन्धनको सहयोगमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले भोलि (सोमबार) विश्वासको मत लिंदै छन् । यसअघि गत पुस २६ गते विश्वासको मत लिदा उनको पक्षमा ९९.२७ प्रतिशत सांसदले समर्थन जनाएका थिए ।

सरकारलाई समर्थन गरेका नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि प्रधानमन्त्रीले फेरि प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराएपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाएका छन्।

प्रधानमन्त्रीलाई विश्वासको मत कुन–कुन पार्टीले दिदैछन् ?

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन्।

प्रधानमन्त्रीले बहुमतका लागि १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ। ११ दलको समर्थन भएमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउने देखिन्छ। प्रतिनिधि सभामा कांग्रेसका ८८, माओवादीका ३२, रास्वपाका १९, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, राष्ट्रिय जनमोर्चाको १, नेपाल समाजवादी पार्टीको १, आम जनता पार्टीको १ सांसद छन्।

कांग्रेस, रास्वपा, एकीकृत समाजवादीले पार्टी बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन्।